स्मिता दाहालले गाइन् रेखाको फिल्मका लागि गीत

काठमाडौंः अभिनेत्री रेखा थापाले अभिनय र निर्माण गर्ने बेनामे फिल्मको गीतमा पछिल्लो समयकी चर्चित गायिका स्मिता दाहालले आफ्नो स्वर रेकर्ड गराएकी छन् । यसै साता राजधानीका एक रेकर्डिङ स्टूडियोमा उनले फिल्मको गीत गाएकी हुन् । बाह्र वर्षको उमेरदेखि नै गीत गाउन थालेकी स्मिताले गाएका ‘पानी कुवाको’, ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन्’ गीत हिट छन् ।

स्मिताले गाएको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ भने एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । ‘मायालु तिमी कता छौं’ गीत सुनेपछि रेखा र बसन्तले स्मितालाई फिल्मको गीत गाउन दिएका हुन् । गीतमा नेपाल आइडल फेम्ड प्रताप दासले पनि आफ्नो स्वर रेकर्ड गराइसकेका छन् । प्रताप र स्मिताको स्वरले गीतलाई जीवन भरेको संगीतकार सापकोटा बताउँछन् ।

संगीतकार सापकोटा रेखा फिल्मस्को यो गीतलाई लिएर निकै उत्साहित छन् । नाम घोषणा नगरिएको फिल्मलाई निर्देशन गर्ने जिम्मेवारी सविर श्रेष्ठको काँधमा छ । यसअघि उनले रेखालाई लिएर ‘तथास्तु’ र कसले चोर्‍यो मेरो मन’ फिल्मको निर्देशन गरेका थिए । रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा रेखाका अलावा सौगात मल्ल र दयाहाङ राईको पनि मुख्य भूमिका रहनेछ । बैशाखबाट छायांकन सुरु हुने फिल्म तिहारमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्