टी–२० विश्वकपः न्यूजिल्याण्डविरुद्ध भारत ४ रनले विजयी

काठमाडौंः अष्ट्रेलियामा जारी आइसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्डविरुद्ध भारत ४ रनले विजयी भएको छ ।

भारतले दिएको १ सय ३४ रनको लक्ष्इ पछ्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

उसका लागि अमेलिया केरले अविजित ३४ रन बनाए पनि टीमलाई जित दिलाउन सकिनन् । यस्तै केटे मार्टिनले २५, मैडी ग्रीनले २४, राहेल प्रेसिटले १२, कप्तान सोफी डिवाइनले १२ र हेले जेन्सेनले ११ रन बनाइन् । बलिङमा भारतीय टीमका ५ बलरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

उसका लागि ओपनर शफअली बर्माले आज पनि उत्कृष्ट ब्याटिङ गरिन् । उनले न्यूजिल्याण्डविरुद्ध ३४ बलमा ४ चौका र तीन छक्का प्रहार गर्दै सर्बाधिक ४६ रन बनाइन् ।

यस्तै तान्या भाटियाले २३, पूनम यादवले १४, स्मृति मन्धानाले ११, जेमिमाह रोड्रिग्स र शिखा पाण्डेले १०–१० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा न्यूजिल्याण्ड टीमकी रोजमेरी मैर र अमेलिया केरले सर्बाधिक २–२ विकेट लिइन् । जारी प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो ।

उसले पहिलो खेलमा अष्ट्रेलिया र दोस्रो म्याचमा बंगलादेशलाई हराएको थियो ।न्यूजिल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको थियो ।

 

कमेन्ट गर्नुहोस्