वेस्टर्न रिजन कपः कुवेतलाई हराउँदै यूएईले जित्यो उपाधि

काठमाडौंः ओमानमा भएको एसीसी वेस्टर्न रिजन कपको उपाधि यूएईले जितेको छ । फाइनलमा कुवेतलाई १०२ रनले हराउँदै यूएईले उपाधि जितेको हो ।

यूएईले दिएको २ सय रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र नबाउन सक्यो ।

उसका लागि मुहम्मद असलमले सर्बाधिक २३ रन बनाए । बलिङमा यूएई टीमका सुल्तान अहमदले सर्बाधिक ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो ।

उसका लागि चिराग सुरीले ६०, रोहन मुस्तफा, मुहम्मद उश्मानले २८–२८, वहीद अहमदले अविजित ४५, बसिल हमीदले १२ रन बनाए । बलिङमा कुवेत टीमका अफ्सल अशरफले सर्बाधिक २ विकेट लिए ।

यूएई र कुवेत शीर्ष २ मा रहँदै वेस्टर्न रिजनबाट एसिया कप छनोटमा पुगिसकेका छन् । अब इस्टर्न रिजनबाट शीर्ष २ मा पुग्ने टोली एसिया कप छनोटमा पुग्ने छन् । एसिया कप छनोटको विजेता टीमले एसिया कप खेल्ने मौका पाउने छ ।

कमेन्ट गर्नुहोस्