कोरोना भाइरसः चीनबाट अमेरिका फर्केका ८३ जना क्वारेन्टाइनमा

अमेरिकाः विश्वभर करिब तीन हजार जनाको ज्यान लिइसकेको कोरोना भाइरस(कोभिड–१९)को असर अमेरिका पनि परेको छ । अमेरिका रहेका धेरै कम्पनीले कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताएका छन्, भने अमेरिकी नागरिक संक्रमण हुनसक्ने त्रासमा छन् ।

मुख्यगरी चिनियाँ मुलका नागरिक बस्ने क्षेत्रमा विशेष असर परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । चाइनिज रेष्टुरष्ट तथा चिनियाँ अमेरिकनहरु बस्ने क्षेत्रमा यसको बढी मार परेको छ । चीन पुगेर पुनः अमेरिका फर्किनेहरुबाट संक्रमण हुन सक्ने डरका कारण त्यस क्षेत्रमा त्रास देखिएको हो ।

हालै न्यूयोर्क राज्यको लङआइल्याण्ड क्षेत्रमा ८३ जनालाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । न्यूयोर्क राज्यको नसाउ काउन्टीमा पर्ने लङआइल्याण्ड क्षेत्रका ८३ जनालाई अनुसन्धान गर्न लागिएको हो ।

अनुसन्धानका लागि राखिएकाहरु हालै चीनको भ्रमण गरेर फर्केकाहरु हुन् । ती व्यक्तिलाई दुई हप्ता क्वारेन्टानमा राखिने स्थानीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । हालसम्म अमेरिकामा कोरोना भाइरसबाट कसैको ज्यान भने गएको छैन् । श्रोतका अनुसार हालसम्म अमेरिकामा एक सय भन्दा बढीलाई आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।

यता युनाइटेड एयरलाइन्स कम्पनीले सोमबार चीनमा अन्तिम गन्तव्य बनाएर हुने उडानहरु बन्द गरेको घोषणा गरेको छ । एयरलाइन्स कम्पनीले ७५ प्रतिशत असर गरेका कारण उडान बन्द गर्नुपरेको उल्लेख गरेको छ । कम्पनीका अनुसार बेइजिङ, साङघाई र हङकङमा हुने उडानहरु अप्रिल २४ तारिख सम्मका लागि बन्द भएका छन् ।

यस्तै सोमबार सम्मको अध्ययन अनुसार क्रेडिट कार्ड कम्पनी मास्टर कार्डले सन् २०२० को पहिलो चौमासिक रिर्पोट अनुसार व्यवसायमा ठूलै असर परेको उल्लेख गरेको छ । कम्पनीका अनुसार २ देखि ३ प्रतिशत व्यापार तल झरेको छ ।

विश्व बजारमा आफ्नो व्यापार स्थापित गरेको चीनमा कोरोना भाइरस फैलिएपछि त्यसको असर स्वरुप अमेरिकाले पनि भोगेको छ ।

यस्तै खाना र औषधीजन्य वस्तुहरुको निर्यातमा समेत ठूलो असर परिरहेको अमेरिकी कम्पनीहरुको भनाइ छ । कम्पनीहरुका अनुसार चीनमा उत्पादन हुने जुस, फास्टफुड र औषधि निर्यातमा कमी आएको छ ।

कोरोना भाइसको त्रासका कारण मानिसहरु मास्क लगाएर हिडेको देखिन्छ । अमेरिकी सरकारले ट्राभल एड्भाइजरी प्रकाशित गरी सक्भर चीन तथा दक्षिण कोरिया यात्रा नगर्न भनेको छ । यस्तै चीन हुँदै यात्रा गर्नुपर्ने आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

यसैबीच राष्ट्रपति ट्रम्प प्रशासनले कोरोना भाइरसको रोकथामका लागि जुनसुकै कदम चाल्न सकिने जनाएको छ । राष्ट्रपति ट्रम्पले साढे दुई बिलियन डलर बिनियोजनका लागि संसदबाट अनुमति लिने उल्लेख गरिसकेका छन् । चीनमा कोरोना भाइरसको संक्रमणपछि राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा स्वच्छ हावा पानी रहेको भन्दै गरेको भाषणप्रति सांकेतिक चीन लक्षित भनाई आएको भन्दै उनको बिरोध समेत भएको थियो ।

ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सलाई कोरोना भाइरसको रोकथामका लागि मुख्य व्यक्ति तोकेको छ । उपराष्ट्रपति माइकले आफ्नो मुलुकका नागरिकलाई कोरोना भाइरसबाट बचाउन बिशेष पहल गर्ने जनाइसकेका छन् ।

यसैबीच न्यूयोर्क शहरका मेयर बिल डे ब्लाजिओले भाइरसबाट बच्न र संभावित संक्रमणबाट जोगिन आफ्ना जनतालाई आग्रह गरेका छन् । उनले त्यसको रोकथामका लागि १२ सय शैय्याको अस्पतालको व्यवस्था गरिएको समेत जनाएका छन् ।

कमेन्ट गर्नुहोस्