काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन शुरू

काठमाडौंः काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हान्ने महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेलमाथि छानविन शुरू भएको छ ।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाबारे छानविन शुरू गरिएको र दोषी देखिए कारबाही गरिने बताए ।

ललितपुरको भैंसेपाटीमा इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त घटना ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो भएको हो ।

एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएका बेला उक्त घटना भएको बताइएको छ ।

इन्स्पेक्टर पौडेलले सामान्य बल प्रयोग गरेको बताएका छन् । बिहीवार महिला प्रहरी घटनास्थलमै भएपनि महिलालाई कुट्न इन्स्पेक्टर नै अघि लागेको भिडियोबाट देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्