आमाबुवाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल

कैलालीः बिहीबार दिउँसो कञ्चनपुरमा आमाबुबाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

बेहोस भएपछि शुक्रबार रातिदेखि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा ७ महिने शिशुको आइसियूमा राखेर उपचार भइरहेको छ ।

आमाबुबाको हत्यापछि शिशुलाई मावलीको जिम्मा लगाइएको थियो । आमाबुवाको हत्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए ।

अस्पतालका बालरोग विशेषज्ञ डा. मोहन साउँदले बच्चाको टाउकोमा गम्भीर चोट लागेकोले अवस्था अत्यन्तै नाजुक रहेको बताए ।

डाक्टर साउँदले बच्चाको उपचारमा अस्पतालले विशेष ध्यान दिइरहेको जानकारी दिए । बच्चाको होस अझै आइनसकेको कारण केही भन्न नसकिने अवस्था रहेको अस्पतालले जनाएको छ ।

बिहीबार कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए ।

उनीहरुको हत्या कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्