काठमाडौंः विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोबिड १९)लाई दृष्टिगत गरेर नेपाली कांग्रेसले सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबारदेखि स्थगित गरिएको जानकारी दिए ।
कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ ।
कांग्रेसले कोरोना जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न अपिल गरेको छ ।
साथै, त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र स्थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।