कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डलाई ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन् ।

कोरोना भाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् । उनले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने बताए ।

उनले पर्यटन क्षेत्रसँग आबद्ध सबै सङ्घसंस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्नसक्ने प्रभाव र सरकारकोतर्फबाट चाल्नुपर्ने कदमबारे तीनदिनभित्र सुझाव दिन पनि आग्रह गरे ।
साथै विमानस्थलमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पर्यटकको धेरै आवतजावत हुने काठमाडौं बाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ‘हेल्थ डेस्क’ राख्ने प्रक्रिया पनि अघि बढाइएको बताए ।

कमेन्ट गर्नुहोस्