काठे सुगन्धमा मौलिकतासहितका सिर्जना आउँदैछन्ः गायक किरण गौतम

काठमाडौंः काभ्रेली लोक गायक तथा सर्जक हुन् किरण गौतम । उनी पछिल्लो समय नेपाली लोकसंगीतमा चर्चित छन् । प्रस्तुत छ, उनै गायक गौतमसँग नेपाली लोकसंगीतका बारेमा गरिएको कुराकानी-

हिजोआज केमा ब्यस्त हुनुहुन्छ ?

–सामन्यतया गीत संगीतकै काम गरिरहेको छु । साथै विगत केही समय यता हरेक साँझ शैलुङ रोधिघर कोटेश्वरमा व्यस्त हुन्छु ।

लोक दोहोरीमै पूर्ण समय दिनुको कारण चाहिँ के हो ?

–नेपाली गीत संगीतभन्दा पर बस्न नसकेर भनौं या मेरो लागि अवसर जे भन्दा पनि हुन्छ । यिनै कार्य गर्दा खुसी मिल्छ ।

भर्खरै काठे लोकदोहोरी महोत्सव सम्पन्न भएको छ । यो विषयमा के भन्न चाहनुहुन्छ?

–सर्वप्रथम आयोजक सस्था डी.य.आर.मुभिजलाई मनैदेखि आभार व्यक्त गर्दछु । यसलाई हाम्रो काठे लोक संगीतका लागि एउटा ऐतिहासिक सफलता मानेको छ । समग्रमा कलाकारको सहभागिता कार्यक्रम सम्पन्न भयो । एउटा राम्रो सन्देश र युवा पुस्तालाई काठे लोक गीतप्रति आकर्षण बढाउन भूमिका खेलेको महसुस गरेको छु ।

निरन्तर लोक दाहोरी गीतमा सक्रिय हुँदाको अनुभव कस्तो छ?

–जीवन नै एक यात्रा हो, त्यसभित्र आफ्नो रोजाइमा लोकगीत संगीतको यात्राको छोटो सुखानिभूति मैले पनि गर्दैछु, सिक्दै छु । निरन्तरता दिने प्रयासमा आजसम्म लागिरहेको छु । आशा छ, दर्शक-श्रोताको साथ रहेमा केही गर्नेछु आगामी दिनमा ।

यतिबेला गायक-गायिकाले नेपाली समाजलाई कस्तो किसिमको गीत संगीत पस्किनु पर्ला?

–म आफू लोक दोहोरी गीतसँग सम्बन्धित भएकोले प्रमुख कुरा हाम्रो ग्रामिण जनजीवन र मौलिक कुरालाई गीतमार्फत काठे सुगन्धमा प्रस्तुत गर्ने पहिलो प्रयास हो । साथै यतिबेला पछिल्लो पुस्तालाइ हाम्रो सँस्कृति लोक भाकालाई समय सापेक्ष हिसाबमा उनीहरूको मन मष्तिकसम्म बस्न, जन जिब्रोमा झुन्डिने र उनीहरूले लोक गीतलाई अपनाउन सक्ने लय शब्दमा सिर्जना लिएर जानु हो भन्ने लाग्छ र यस्तै प्रयास जारी छ ।

अबको योजना के-के छन् ?

–योजना भन्दा पनि नेपाली समाजलाई आफ्नो तर्फबाट सकेसम्म केही दिनुपर्छ भन्ने लाग्छ । निरन्तरताको क्रममा मौलिक स्वादका केही फरक लयमा गीतहरू आउँदैछन् । आशा छ सबैले रूचाउनु हुनेछ ।

अन्तिममा दर्शक श्रोताहरुलाइ के भन्न चाहनुहुन्छ ?

–नेपाली लोकगीतलाई माया गरौं, दर्शक-श्रोतासँग साथ सहयोगको अपेक्षा राखेर नै नयाँ सिर्जना गर्न जागर लाग्ने हो । सक्रिय कलाकारलाई हौसला दिनुहोस् । हामी निरन्तर मौलिक सिर्जना दिने अभियानमा नै लागिरहेका छौं । सबैमा सम्झना!

प्रस्तुतिः गणेश आचार्य

कमेन्ट गर्नुहोस्