‘गभर्नर नियुक्तिमा क्षमता हेरौं’

काठमाडौंः पूर्वअर्थमन्त्री शंकर कोइरालाले राष्ट्र बैंकको गभर्नरमा पार्टीको कार्यकर्ता नभई नेतृत्व गर्न सक्ने व्यक्ति गर्नुपर्ने बताएका छन्।

सञ्चार केन्द्र काठमाडौं नेपालले आइतबार आयोजना गरेको ‘नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था र राष्ट्र बैंकको भावी नेतृत्व’ विषयक अन्तरक्रियामा कोइरालाले वित्तीय क्षेत्रको चुनौती सामाना गर्न सक्ने व्यक्ति गभर्नर बन्नुपर्ने बताए। पछिल्लो समयमा राष्ट्र बैंक माइक्रो म्यानेजमेन्टमा केन्द्रित भएको भन्दै कोइरालाले उमेर हद तोक्ने, व्यवस्थापनमा सीमा लगाउन आवश्यक नभएको बताए।

राष्ट्र बैंकले औद्योगिक तथा व्यावसायिक हितमा राष्ट्र बैंक असफल भएको भन्दै भावी नेतृत्वले त्यसतर्फ सोच्नुपर्ने उनको भनाइ छ। ‘लागत मूल्य र ब्याज घटाउन पहल गर्नुपर्छ’, उनले भने,‘बैंकको हितमा मात्र राष्ट्र बैंक केन्द्रित हुनु हुँदैन।’

राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमशेर राणाले पछिल्लो समयमा आस्थाका आधारमा गभर्नर नियुक्ति हुन थालेकामा चिन्ता व्यक्त गरे। ‘सिफारिस समितिमा बसे पनि सोचेजस्तो काम गर्न पाइँदैन’, उनले भने। राष्ट्र बैंकको संरचना बलियो भएको भन्दै जस्तोसुकै व्यक्ति आएपनि राम्रोसँग चल्ने उनको भनाइ छ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवम् कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले कार्यशर्त दिएर गभर्नर जसलाई नियुक्त गर्दा पनि फरक नपर्ने बताए। ‘यसो गर्न सके काम गर्न नसक्ने गभर्नर आफै बाहिरिन्छन्’, उनले भने,‘सरकार र दातृ निकायको भाषा बुझ्ने गभर्नर चाहिन्छ।’ राष्ट्र बैंकको कार्यसञ्चालन स्वतन्त्र कायमै रहेको भन्दै राष्ट्र बैंकको नेतृत्वलाई अराजक बन्न छुट नभएको बताए।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जनकबहादुर शाहीले बैंकिङ प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताए। पैसाको व्यापार प्रणाली परिवर्तन गर्दै विशिष्टिकृत बैंकिङ प्रणाली अपनाउन आवश्यक भएको उनको भनाइ छ। ‘क्षेत्रीय बैंक चाहिन्छ’, उनले भने,‘पाँच लाखको ऋण स्वीकृत गर्न काठमाडौं आउने अवस्था अन्त्य हुनुपर्छ।’ बैंकलाई माफिया र कमिसन एजेन्टबाट बचाउनुपर्ने आवश्यक भएको उनको भनाइ छ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बैंकलाई समृद्धिसँग जोड्न आवश्यक भएको बताए। ‘कोरोनाका कारण आत्तिनुपर्ने अवस्था छैन’, उनले भने। जोखिम बहन गर्न नचाहनेर जागिरे प्रवृति बढ्दै गएको भन्दै उद्यमशीलता बढाउन राष्ट्र बैंकको नयाँ नेतृत्वसँग सहकार्य गर्न आतुर रहेको उनले बताए।

कृषि विकास बैंकका सञ्चालक विनोद गुरागाईंले ६० प्रतिशतभन्दा बढी बैंकिङ च्यानलभन्दा बाहिर रहेको भन्दै सबैलाई बैंकिङ च्यानलमा ल्याउनुपर्ने बताए। साइबर आतंक अन्त्य गर्दै डिजिटल पेमेन्ट सिस्टम ल्याउन आवश्यक भएको उनको भनाइ छ। ‘बैंकमा अस्वस्थ प्रतिष्पर्धा हुनुभएन’, उनले भने,‘बैंकले उत्पादनमा लगानी नगरी सुख नपाउने अवस्था सिर्जना गर्नुपर्छ। ’ अन्नपूर्ण पोष्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्