काभ्रेः पनौतीमा टिपरको ठक्करबाट आमा र छोरीको ज्यान गएपछि झडप हुँदा प्रहरी र स्थानीय घाइते भएका छन् ।
प्रहरी र स्थानीयबीचको झडपमा गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातको पातोमा गोली लागेको छ । स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ ।
झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गोली कसले चलायो अझै पत्ता लाग्न सकेको छैन ।
पनौतीमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा सोमबार खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।
आक्रोशित भिडले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । ठक्कर दिने टिपरका चालक रोशी गाउँपालिका ६ का नवराज थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।