नेपाली सेनाः देशैभरि आइसोलेसन वार्ड बनाउँदै

काठमाडौंः कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले सम्पूर्ण युनिटको समन्वय गर्न आपत्कालीन व्यवस्थापन केन्द्र स्थापना गरेको छ । विगतमा सैनिक स्वास्थ्य महानिर्देशनालयले समन्वय गरेकोमा अब केन्द्रको समन्वय सेनाको शक्तिशाली अपरेसनल निकाय व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयले गरेको छ ।

आपत्कालीन केन्द्रको योजनाअनुसार सेनाले प्रदेश सरकारहरूसँगको समन्वयमा आठै पृतनाका ब्यारेकका खाली ठाउँमा टेन्ट गाडेर थप आइसोलेसन वार्ड निर्माण सुरु गरेको छ ।

जंगी अड्डा मुख्यालयमा स्थापना भएको २४ घन्टे आपत्कालीन व्यवस्थापन केन्द्रको नेतृत्व व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले गरेका छन् । सेनाका अपरेसनसँग सबै नीति तय गर्ने र प्रधानसेनापतिलाई स्वीकृत गराएर कार्यान्वयन गर्ने निकाय यही हो । आपत्कालीन केन्द्रको मातहतमा अहिले क्वारेन्टाइन, आइसोलेसन वार्ड निर्माण कार्य भइरहेको छ । यसका लागि सैनिक हेडक्वार्टरले १६ करोड रुपैयाँको बजेटको व्यवस्था गरेको छ ।

आन्तरिक प्रयोजनका लागि ५२ बेडको आइसोलेसन वार्ड तयार

सेनाले आन्तरिक प्रयोजनका लागि ५२ बेडको आइसोलेसन वार्ड बनाएको छ । सेनाले अब आठै पृतनाअन्तर्गतका ब्यारेकका खाली ठाउँमा गैरसैनिक प्रयोजनका लागि आइसोलेसन वार्ड बनाउँदै छ ।

पूर्वी पृतनाले मात्रै प्रदेश नम्बर १ सरकारसँग समन्वयमा चार सय ४४ बेडको आइसोलेसन वार्ड बनाउन लागेको छ । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार पूर्वी पृतनाअन्तर्गत उदयपुरको बेलसोतमा दुई सय बेड, मोरङको टाँडीमा दुई सय चार बेड र झापास्थित कृषि परिषद्को तालिम हलमा ४० बेडको आइसोलेसन वार्ड बनाउन सुरु भएको छ । ‘बाँकी पृतनाले पनि यसैगरी काम गरिरहेका छन् । जुन ठाउँमा कोरोना भाइरस संक्रमित भेटिन्छन्, त्यहीँ लकडाउन गर्न आइसोलेसन वार्ड बनाउन लागिएको हो । किनभने बाहिरबाट हेलिकोप्टरमा बिरामीलाई काठमाडौं ल्याउन सम्भव हुँदैन,’ प्रवक्ता पाण्डले भने ।

सेनाले न्यूनतम १० वटा आइसियू सञ्चालनका लागि आवश्यक सामग्रीको पनि तयारी गरिरहेको प्रवक्ता पाण्डेले बताए । भारत सीमा क्षेत्रमा ४१ वटा मेडिकल टोली परिचालन गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा यो टोलीले यात्रुहरूको स्वास्थ्य जाँच लिइरहेको छ । उपकरण र औषधिसहित मेडिकल टोली परिचालित भएको प्रवक्ता पाण्डेले जानकारी दिए । सेनाले बहालवाला र भूतपूर्व सैनिकलाई पनि मेडिकल तालिम दिएर परिचालनको तयारी गरेको छ ।

आत्मसुरक्षाका थप तयारी

सेनाले ९६ हजार पाँच सय जनशक्तिका लागि कम्तीमा तीन महिनाका लागि पुग्ने रासनलगायत अत्यावश्यक सामग्री जोहो गरिरहेको छ । ब्यारेकमा स्वास्थ्य सावधानी पनि अपनाइएको सैनिक प्रवक्ता पाण्डेले बताए । ब्यारेकहरूमा खाना खाने समूह पनि सानो बनाइएको छ । हरेक ब्यारेक घरमा स्वास्थ्य जाँचको सुविधा उपलब्ध छन् । बिदा बसेर आएका सैनिकले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि अनिवार्य गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्