निङ्गलाशैनी माविका अध्यक्ष भट्टले अमेरिकाबाट जुटाए विद्यार्थीका लागि कम्प्युटर

कञ्चनपुरः जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद भट्टले विद्यार्थीहरुका लागि अमेरिकाबाट कम्प्युटर सहयोग पाएका छन् ।

अध्यक्ष भट्टले अमेरिकामा बस्ने नेपालीहरुको संस्था एजुकेसन एडभान्समेन्ट इनिसिएटिभ (इएआई) बाट १५ कम्प्युटर सहयोग जुटाएका हुन् । विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा अध्ययन सहज बनाउन अध्यक्ष भट्टले गत वर्षदेखि संस्थासँग पहल गरेका थिए ।

‘सूचना र प्रविधिको युग अनुसार शिक्षा दिने उद्देश्यले कम्प्युटर विषयको पठनपाठन सुरु गरिएको थियो, त्यसलाई सहज बनाउन कम्प्युटरको व्यवस्थाका लागि गत वर्षदेखि पहल गरेको थिए’ अध्यक्ष भट्टले भने, ‘यो पहल आज भएर सफल भएको छ, विद्यालयलाई कम्प्युटर सहयोग प्राप्त भएको छ, यसमा खुसी छौ ।’

काठमाडौंमा अनौपचारिक कार्यक्रममा संस्थाका रमेश डंगोलले व्यवस्थापन समितिका अध्यक्ष भट्टलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष भट्टले विद्यालयलाई कम्प्युटर सहयोग गरी पठनपाठन सहज बनाउन सहयोग गरेकोमा धन्यवाद दिए ।

निङ्गलाशैनीमा कक्षा ६ देखि १२ कक्षासम्म कम्प्युटर विषयको पठनपाठन गरिन्छ । सहयोगी संस्थाले विद्यालयसित सम्झौता गरी कम्प्युटर सहयोग गरेको छ ।

कमेन्ट गर्नुहोस्