गड्डाचौकी नाका बन्द र कञ्चनपुर ‘लकडाउन’गर्नुपर्ने अवस्था किन आयो ? (अन्तर्वार्ता)

महेन्द्रनगरः कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न कञ्चनपुर आइतबार राति १२ देखि ‘लकडाउन’ हुँदैछ ।

भीमदत्त नगरपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘लकडाउन’ गर्ने निर्णय गरिएको जनाएको छ ।

सूचनामा ‘लकडाउन’भन्ने शब्द भने उल्लेख गरिएको छैन । तर, मध्यरातिदेखि नै लागू हुने गरी दैनिक उपभोग्य वस्तु तथा उद्दार र राहतमा संलग्न यातायातबाहेक अरु सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखानासमेत अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ भने आकश्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा यसलाई ‘लकडाउन’को रुपमा लिनुपर्ने बताउँछन् । उनले भने, ‘सर्बसाधारणमा त्रास उत्पन्न हुन्छ भनेर हामीले ‘लकडाउन’ भने शब्द प्रयोग गरेका हैनौं । कञ्चनपुरलाई ‘लकडाउन’ नै गरिएको हो । सूचनाको बर्खिलाप बिनाकारण घर बाहिर कोही निस्किएको पाइएमा कारबाही गर्छों ।’

कोरोनाका कारण विश्वका कतिपय देशले त्यहाँको अवस्था हेरेर निश्चत राज्य वा शहरलाई ‘लकडाउन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै विभिन्न निर्णय गरेको थिए, त्यसलाई ‘सेमीलकडाउन’ को रुपमा हेरिएको छ । योसँगै जिल्ला नै ‘लकडाउन’ गर्नेमा कञ्चनपुर पहिलो जिल्ला बनेको छ ।

योसँगै गड्डाचौकी नाका पनि यही चैत्र ११ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

यस्तो अवस्थामा नाका बन्द गर्नुपर्ने कञ्चनपुरलाई ‘लकडाउन’नै गर्नुपर्ने अवस्था किन आयो ?
प्रस्तुत छ भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टसँग गरिएको कुराकानी :
गड्डाचौकी पश्चिमी सीमा नाका हो । कञ्चनपुरसँग सीमा जोडिएका भारतका राज्यमा समेत कोरोनाका बिरामी फेला परेका छन् । भारतमा संक्रमित र मृत्यु हुने संख्या बढ्दै छ ।

त्यसकारण कोरोनाबाट बञ्नका लागि भारतमा रहेका नेपाली र भारतीय मेत धमाधम नेपाल आउँदैछन् । एकदुई दिन यता मात्रै दैनिक १५ हजारभन्दा बढी यहीँ नाका (गड्डाचौकी)भएर नेपाल भित्रिए । सबै क्षेत्रबाट नाका बन्द गर्नुपर्ने माग पनि उठेको थियो ।

अन्य नाका बन्द रहेको अवस्थामा गड्डाचौकी नाका व्यवस्थित गर्न सकेनौं भने स्थिति भयावह हुनसक्छ । कञ्चनपुर मात्रै हैन, देशनै उच्च जोखिममा हुन्छ ।

त्यसकारण हामीले गडडचौकी नाका बन्द गर्ने र कञ्चनपुरलाई ‘लकडाउन’ गर्ने निर्णय गरेका हौं । नाका मात्रै बन्द गरियो भने भारतबाट लुकिछिपि आउने सम्भावना देखेर कञ्चनपुरलाई नै ‘लकडाउन’गर्ने निर्णय गरेका हौं । उपयुक्त समय नआएसम्म गड्डाचौकी नाका बन्द रहन्छ र कञ्चनपुर ‘लकडाउन’रहन्छ ।

कमेन्ट गर्नुहोस्