कोरोना भाइरसः के बालबालिकालाई अरूसँग खेल्न दिनुपर्छ?

बीबीसीः के बालबालिकाहरू घरबाहिर गएर साथीहरूसँग खेल्न हुन्छ? कि सामाजिक दूरीको अर्थ उनीहरूको खेल समयको अन्त्य हो?

यदि क्याथरीन विल्सनले पछाडि फर्केर कुनै कुरा परिवर्तन गर्न सक्थिन् भने उनले छिमेकीको घरमा खाना खाने निम्तो अस्वीकार गर्थिन्।

दुई साताअघि इटलीमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको तर सरकारले घरभित्रै बस्न सुझाव नदिएको बेला रोममा बस्ने यी दुई बच्चाकी आमालाई छिमेकीको घरमा दुई अन्य परिवारसँग सानो जमघटको निमन्त्रणा आयो।

“मैले र मेरा श्रीमान्‌ले सोच्यौँ हामी कसैको घरमा त हो नि, ठूलो भिडमा जान लागेको होइन,” उनले बीबीसीलाई बताइन्।

त्यो बेला इटालेली नागरिकसँग विवाह गरेकी अमेरिकी नागरिक विल्सनका बालबालिकाको विद्यालय बिदा भएको थियो। “त्यो बेला लाग्यो यो त सानो बिदा जस्तो हो।”

तर अहिले जब कोरोनाभाइरस फैलिरहेको छ। उनलाई लाग्छ उनले आफ्नो परिवारलाई त्यहाँ लग्नु उचित थिएन।

केही दिनपछि इटलीको सरकारले घरबाहिर निस्कन प्रतिबन्ध लगायो जसको अर्थ थियो पार्क वा खेलस्थलमा पनि जान पाइँदैन।

“यो पूर्ण प्रतिबन्ध बरू ठीक छ। कुनै निर्णय गर्ने बेलामा बालबालिका र साथीहरूको चुनौतीका माझ के गर्ने के गर्ने भन्ने हुँदैन,” उनले भनिन्।

अभिभावकलाई तनाव

विश्वभरि अभिभावकहरूलाई विल्सनलाई जस्तै तनाव छ। नेपाल जस्तै धेरै देशहरूमा बालबालिकाहरूको बिदा छ र इटलीमा जस्तो सरकारले घरबाहिर निस्कनै प्रतिबन्ध लगाएको छैन। तर स्वास्थ्य अधिकारीहरूले सामाजिक दूरीका कायम राख्न भनिरहेका छन्।

साथीहरूसँग टेबलटेनिस खेल्न हुन्छ कि हुँदैन? एकछिन चौरतिर जानु हुन्छ कि हुँदैन? साथीको घरमा खेल्न जान हुन्छ कि हुँदैन?

जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ डा. केरी अल्टहफका अनुसार सामाजिक दूरीको अर्थ वयस्क र बालबालिका सबैजना कम्तीमा छ फीटको दूरीमा रहनु हो।

यसको अर्थ बास्केटबल वा फुटबलजस्ता खेलहरू खेल्न हुँदैन। टेबलटेनिस र लुकामारीजस्ता खेलहरूमा दूरी रहन सक्ने भए पनि बालबालिकाहरूलाई दूरी बनाइराख्न लगाउनु असम्भव नै हुन्छ। “खेलको बेला कसैले पनि दूरी राख्दैन, खेलस्थलमा दूरीको अर्थ हुँदैन,” उनी भन्छिन्।

र, भाइरसहरू सतहमा केही दिन बाँच्ने प्रमाणहरू भएका कारण खेलसामग्रीजस्ता धेरै छोइरहने खालका सतहहरूबाट टाढा रहनु नै उचित हुन्छ।

बालबालिकामा कोरोना भाइरसको सङ्क्रमणले कमै वा कुनै लक्षण नदेखाउने र धेरै असर नगर्ने भए पनि उनीहरूले भाइरस सार्न सक्छन्।

कमेन्ट गर्नुहोस्