कोरोनाबाट मृत्यु हुनेमा महिला भन्दा पुरुष बढी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा महिला भन्दा पुरुष बढी रहेका छन ।

हालसम्म उपलब्ध तथ्यांकहरुले यो विषयमा अनुसन्धानकर्ताहरुको ध्यान तानेको छ । कतिपय संस्थानहरुले मृत्युको यो सामाजिक पक्षले भविष्यमा गम्भीर असर पर्ने समेत बताएका छन् । कतिपयले स्वास्थ्य व्यवहारबारे नै नयाँ ढंगले सोच्नुपर्ने समेत बताएका छन् ।

धुम्रपान, मदिरापान तथा कमजोर स्वास्थ्य नै यसको मुख्य कारण भएको अनुसन्धानकर्ताहरुको निश्कर्ष देखिन्छ ।

तथ्य हेर्ने हो भने राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूटका अनुसार, इटालीमा संक्रमित हुने कूल संख्याको करिब ६० प्रतिशत पुरुष रहेका छन् । तर मृत्यु भएकाहरुको संख्या हेर्ने हो भने ७० प्रतिशत पुरुषको मृत्यु भएको छ ।

दक्षिण कोरियाको तथ्यांक पनि उस्तै छ । संक्रमित हुनेमा महिला बढी देखिएपनि मृतकहरुमा भने ५४ प्रतिशत पुरुष रहेका छन् ।

अमेरिकाले भने उमेर र लिंगका आधारमा देशको समग्र तथ्यांक अझैसम्म सार्वजनिक गरेको छैन ।

सिएनएनले यो विषयमा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रसँग लिंगका आधारमा वर्गीकरण गरिएको जानकारी माग गरेपनि प्राप्त गर्न नसकेको जनाएको छ । कुनै पनि रोगमा जनसांख्यकीय तथ्यांकको महत्व रोगको प्रभावकारी नियन्त्रण र उपचारमा महत्वपूर्ण हुने भएपनि अमेरिकाले यस्तो तथ्य अझैसम्म प्रकाशन नगर्नुबाट विशेषज्ञहरुलाई नै के भइरहेका छ र अब कसरी जाने भन्ने कुरामा अलमल भएको सिएनएनको ठम्याई छ ।

ग्लोबल हेल्थ ५०÷५० सँग सहकार्य गर्दै एउटा रिसर्च इन्स्टिच्यूटले कोरोना भाइरसको लैंगिक पक्षबारे प्रकाश पारेको छ । सिएनएनले २० वटा देशबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दै किन महिला भन्दा पुरुषको बढी मृत्यु भइरहेका छ भन्नेबारे रिपोर्ट प्रकाशित गरेको छ ।

२० वटा देशहरुमध्ये चीन, फ्रान्स, जर्मनी, इरान, इटाली र दक्षिण कोरियाले मात्रै लैंगिक आधारमा तथ्यांक उपलब्ध गराएको सिएनएनले जनाएको छ । अरु सात वटा देशले भने समग्र सक्रमणको तथ्यांक मात्रै उपलब्ध गराएको थियो ।

यी तथ्यहरु हेर्दा हरेक देशमा संक्रमित हुनेमा महिला तर मृत्य हुनेमा भने पुरुष अगाडि रहेको देखिन्छ ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको अवस्था हेर्दा २.८ प्रतिशत पुरुषको मृत्यु भएको छ भने महिलामा भने यो दर १.७ प्रतिशत मात्रै छ । जबकि संक्रमण हेर्दा पुरुष ५१.४ प्रतिशत भन्दा बढी संक्रमित बनेका छन् ।

कमेन्ट गर्नुहोस्