न्यूयोर्कका डाक्टरले कोरोनाका सिकिस्त बिरामीलाई भिटामिन सीको अत्यधिक मात्रा दिँदै

न्यूयोर्कः चिकित्सकहरुले न्यूयोर्क राज्यभरि कोरोना भाइरसका सिकिस्त बिरामीलाई भिटामीन सीको उच्च मात्रा दिएर उपचार गरिरहेका छन् ।

डेलिमेलमा प्रकाशितन समाचार अनुसार कोरोना संक्रमित बिरामीमा भिटामीन सीको अत्यधिक मात्रा लाभदायी भएको चिनियाँ अनुभवका आधारमा उनीहरुले यसो गर्न थालेका हुन ।

न्यूयोर्क पोष्टसँग कुरा गर्दा नर्थवेल हेल्थका पल्मोनोलोजिष्ट तथा क्रिटिकल एयर स्पेशलिष्ट डाक्टर एन्ड्रू वेभरले उनको आइसियुमा भर्ना भएका बिरामीलाई तत्कालै १५ सय एमजी बराबर भिटामीन सी दिने गरेको बताए । यसपछि यस्ता बिरामीहरुलाई दिनको तीन चारपटक शक्तिशाली एन्टिअक्सिडेन्ट औषधि दिने गरेको उनको अनुभव छ ।

यो भनेको एकदिनमा सामान्य मानिसलाई आवश्यक हुने भिटामीन सीको मात्रा भन्दा १६ औं गुणा बढी हो । सामान्यतः बयस्कहरुका लागि एकदिनमा ९० र महिलाहरुलाई ७५ मिलिग्राम भिटामिन सी आवश्यक पर्ने कुरा अमेरिकाको नेशनल हेल्थ इन्स्च्यिूटले जनाएको छ ।

वेभरका अनुसार, यो अहिले दिइरहेको मात्रा चीनको शांघाईमा कोरोना भाइरसका बिरामीमा गरिएको परीक्षणबाट सिकेर दिन थालिएको हो ।

“भिटामीन सी दिइएका बिरामीको अवस्थामा यो नदिइएका बिरामी भन्दा उल्लेख्यरुपमा सुधार भएको छ ।” वेबरले भनेका छन्, “यसले उत्कृष्ट तरिकाले सहयोग गर्छ तर यसको त्यति प्रचार भएन, किनभने यो त्यस्तो सेक्सी (महत्व दिइएको अर्थमा भन्न खोजेको) औषधि होइन ।”

नर्थवेलाक प्रवक्ता ज्यासन मोलिनेटका अनुसार स्वास्थ्य संरचनामा कोरोनाभाइरसको उपचारका लागि भिटामीन सीको व्यापक प्रयोग गरिदै आइएको छ । तर बिरामीलाई दिने मात्रा भने फरक हुनसक्छ । “चिकित्सकले निर्धारण गरे अनुसार हुन्छ ।”उनले भने ।

नर्थवेल हेल्थ राज्यको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदान गर्ने संस्थ हो । यस अन्तर्गत न्यूयोर्कमा २३ वटा अस्पताल रहेका छन् ।

अहिले नर्थवेलका अस्पतालमा मात्रै ७ सय बिरामी उपचारमा छन् । न्यूयोर्क राज्यमा २५ हजार बढी संक्रमित भएका छन् ।

कमेन्ट गर्नुहोस्