कोरोना संक्रमित डिएसपीले नै नियम तोडेपछि…

नयाँदिल्लीः नियम पालना गराउने व्यक्तिले नै नियम उल्लंघन गरेपछि के होला? भारतको तेलंगानाका एकजना प्रहरी अधिकारीले कोरोना महामारीका बेला नियम तोडेपछि उनीमाथि मुद्दा दर्ता भएको छ ।

ती डिएसपीका छोरा लण्डनबाट फर्केपछि कोरोना देखिएको थियो । छोराको सम्पर्कमा आएपछि उनलाई समेत संक्रमण भएको थियो । यतिमात्रै होइन, घरमा काम गर्ने महिलालाई समेत कोरोना भाइरसको संक्रमण भएको थियो ।

एसएम अली नाम गरेका यी डिएसपीले परिवार नै संक्रमित भएपछि उपचारसँगै क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशनको पालना गरेनन् ।

भारतीय मिडियाहरुमा प्रकाशित समाचार अनुसार, लण्डनबाट फर्केपछि डिएसपीका छोरा कपाल काटन जानुका साथै एउटा पारिवारिक कार्यक्रममा समेत सहभागी भएका थिए । यति मात्रै नभएर उनीहरुले १९ मार्चका दिन आन्ध्र प्रदेशको पश्चिम गोदावरी जिल्लाको पनि भ्रमण गरेका थिए ।

अहिले बुवा छोरा दुबैलाई अस्पतालमा भर्ना गरिएको छ । राज्यका स्वास्थ्यमन्त्री इताला राजेन्द्रले दुबैले क्वारेन्टाइनका आवश्यक नियमको उल्लंघन गरेको बताए ।

दुबैमाथि लापरवाही गरेको र अरु मानिसको जीवन खतरामा पारेको भन्दै धारा १८८ अन्तर्गत केस दर्ता गरिएको छ ।

कमेन्ट गर्नुहोस्