‘लकडाउन’पछि काठमाडौंको हावाको गुणस्तरमा सुधार

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मंगलबारदेखि सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौं उपत्यकासहित देशभर प्रदूषण घटेको छ ।

उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाएकाले वायूको गुणस्तर सुधार भएको हो ।

हिउँदयाममा प्रदूषण मापन गर्दा सधैं ‘रेड जोन’ मा रहने काठमाडौं ‘लकडाउन’ पछि ‘ग्रीन जोन’मा पर्न थालेको छ । यसले काठमाडौंको हावाको गुणस्तर धेरै राम्रो भएको देखाउँछ ।

सरकारले राखेको प्रदूषण मापन केन्द्रका तथ्यांकअनुसार वीरगञ्ज (सिमरा) बाहेकका अन्य क्षेत्रमा वायु प्रदूषण कम भएर ग्रीन तथा एल्लो जोन कायम भएका छन् ।

तथ्यांकअनुसार काठमाडौंको रत्नपार्क आसपासका क्षेत्रमा दिउँसो २ बजेको आसपासमा वायु प्रदुषण (पी.एम २.५० को स्तर १७.८ माइक्रोग्राम प्रतिघनमिटर रहेको पाइएको छ । वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पी.एम २.५ को मात्रा ४० माइक्रोमिलिलिटर भन्दा उच्च रहे मात्रै त्यसलाई वायु प्रदूषण भएको मानिन्छ ।

रत्नपार्कको पी.एम २.५ को मात्रा भनेको नेपाल सरकारले तोकेको मापदण्डभन्दा आधा कम हो । यसबाट काठमाडौंकोको वायुको गुणस्तर निकै सुधार गएको थाहा हुन्छ ।

कमेन्ट गर्नुहोस्