कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना ‘क्वारेन्टाइन’मा

वीरगञ्जः ‘लकडाउन’को अवज्ञा गर्दै कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर वीरगञ्ज–१६ मा स्थापना गरिएको ‘क्वारेन्टाइन’मा राखेको छ ।

काठमाडौंमा सामग्री पुर्‍याएर वीरगञ्ज फर्किदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा बिभिन्न स्थानबाट चढेर ‘लकडाउन’को अवज्ञा गर्दै वीरगञ्ज आइपुगेका बारा र पर्साका ३ बालबालिका, एक महिला सहित ५२ जनालाई गएराति पर्सा प्रहरीले पक्राउ गरी उनीहरुलाई आवश्यक चेकजाँचका लागि क्वारेन्टाइनमा राखिएको हो ।

कन्टेनरमा लुकेर आएकाहरुलाई आयुर्वेद मेडिकल कलेजको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वास्थ्य जाँचको साथै अन्य विवरण सोधपुध भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुलाई क्वारेन्टाइनमा राखिएको र चेकजाँच तथा सोधपुछ गर्ने काम भइरहेको छ । उनीहरुलाई क्वारेन्टाइनमा नै राख्ने कि सेल्फ क्वारेन्टाइनमा बस्ने गरी कागजगरी छाड्ने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

कन्टेनरका चालक थुनामा राखेर मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको उनले बताए । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको उक्त कन्टेनर काठमाडौंबाट चितवनको भरतपुर, हेटौँडा हुँदै वीरगञ्ज आइपुगेका थियो ।

त्यस्तैगरी लकडाउनको पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने २९ वटा सवारी साधन नियन्त्रणमा लिएर पाँच-पाँच सय रुपैया जरिवाना तिराएर साँझमात्र छाडिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्