अपडेटः भारतले नेपाल आउन दिएन झुलाघाटका अलपत्र नेपालीलाई, परराष्ट्रको पहल आवश्यक

बैतडी । बैतडीको भारतसँग जोडिएको सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतले नेपाल आउन दिएको छैन ।

भारतले गएराती १२ बजेदेखि लकडाउनको घोषणा गरेका कारण नागरिकको आवागमनमा समेत प्रतिबन्ध लागेको कारण नेपालीलाई पुलसम्म समेत आउन नदिएको हो ।

यसअघि नेपाल सरकारले अन्तिमपटकका लागि भन्दै हिजो मंगलबारका दिन निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तत्परता नदेखाउँदा झूलाघाट पारी रहेका नेपाली फर्किन सकेका थिएनन् ।

जिल्ला प्रशासनले सरकारको निर्णयको समेत पालना नगरेपछि व्यापक आलोचना चुलिएको थियो । जिल्लाका जनप्रतिनिधिहरुले जिल्ला प्रशासनलाई गृहसँग समन्वय गर्न दबाब दिएका थिए । केन्द्रमा समेत सुदूरपश्चिमका सांसद तथा अन्य व्यक्तिहरुले गृह मन्त्रालयसँग झूलाघाटमा अलपत्र परेकालाई घर फर्काउन जिल्ला प्रशासन कार्यालय बैतडीलाई निर्देशन दिन अनुरोध गरेपछि वातावरण सहज बनेको थियो ।

अपरान्ह गृहमन्त्रालयसँग कुरा भएपछि जिल्ला प्रमुख अधिकारी आनन्द पौडेलले अलपत्र ५० जना बढी नेपालीलाई घर फर्काउन तयारी शुरु गरेका थिए ।

सीमामा रहेका सबै नेपालीको स्वास्थ्य जाँच गर्ने र तत्काल उपचारमा लग्नुपर्नेलाई अस्पताल लैजाने, सामान्य अवस्थामा रहेकालाई स्थानीय तहको रोहबारमा जिम्मा लगाई घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित नेपाल फर्काउने तयारी जिल्ला प्रशासनले गरेको थियो ।

भारतले हिजो रातीदेखि धारा ४४ लागु गरेपछि समस्या निम्तिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

“भारतबाट त्यस्तो कुरा आएपछि यताबाट पत्र पठाएका छौं, तर कुनै जवाफ आएको छैन ।” पौडेलले भने, “हामीले फोन सम्पर्क पनि गर्न खोज्यौ, तर सम्भव भएको छैन ।”

अहिले भारत र नेपालको नीति जो जहाँ छ, त्यही बस्ने भन्ने भएपनि सीमानामा आएका आफ्ना नागरिकलाई घर फर्काउन सक्दो कोशिस गर्ने उनले बताए । “भारतले अनुमति दिएको छैन, कोशिस गरेका छौं, हेरौं, भोलीसम्म केही प्रगति हुन्छ कि? ”

नेपाल प्रहरी र स्वास्थ्यकर्मीको को टोली झुलाघाट पुगेर भारतीय पक्षसँग सम्पर्क गर्दा भारतले भने नेपाल फर्काउन नमानेका बैतडीबाट प्रदेश सदस्य लीलाधर भट्टले जनाए ।

“नेपालतर्फ हामी सबैले पहल गरेर सहज वातावरण बनेको थियो तर भारतले नै मानेन ।” भट्टले भने, “पिथौरागढका डिएम (डिष्ट्रिक मजिस्ट्रेट अर्थात् नेपालका सिडिओजस्तै पदाधिकारी)ले लकडाउनको घोषणा भएको नेपालबाट औपचारिक अनुरोध भए मात्रै आवश्यक पहल गर्ने बताएपछि आज पनि सीमामा रहेकाहरु उतै बस्न बाध्य बनेका छन् ।”
भारतीय पक्षबाट औपचारिक पत्र पठाउनुपर्ने कुरा आएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले पत्राचार गरेको जानकारी पाएको भट्टले बताए ।

कञ्चनपुर–३ बाट संघीय सांसद दीपक प्रकाश भट्टले यससम्बन्धमा परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गर्ने बताए । के भएको भन्ने बारेमा स्थानीय तहबाट सामान्य जानकारी पाएको बताउँदै भट्टले परराष्ट्रमार्र्फत भारतीय दूतावासको ध्यानकर्षण गर्न पहल गरिरहेको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्