संक्रमित युवती चढेको जहाजमा कतारबाट फर्केका दुई जना क्वारेन्टाइनमा

बिरगञ्ज । कतार एयरवेजबाट गत चैत्र ४ गते नेपाल आएका दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सोही जहाजमा नेपाली आएकी एकजना युवतीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
नेपाल सरकारले उक्त जहाजमा आएका सबैको पहिचान गदैं सबैलाई सम्पर्क गरेपछि दुईजना क्वारेन्टाइनमा आएका हुन ।

प्राप्त जानकारी अनुसार, बाराको कलैया–२० बसतपुरका २९ बर्षका र रौतहट घर भई कलैया–७ बरेवा बस्ने ३३ बर्षका युवकलाई क्वारेन्टाइनमा पठाइएको हो ।

एकै जहाजमा आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको खोजी शुरु गरिएको थियो । मंगलबार दिउँसो उनीहरुलाई प्रहरीले खोजेर अस्पतालमा ल्याएको थियो ।

कलैया अस्पतालमा आवश्यक चेकजाँच पछि अस्पतालकै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार उनीहरुमा कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको छैन । कलैया अस्पतालमा १३ जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन बनाइएको छ ।

यता वीरगञ्जको नारायणी अस्पतालमा ५ जना क्वारेन्टाइनमा छन् । अस्पतालले दिएको जानकारी अनुसार उनीहरुमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छैन ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। मदन उपाध्यायले ग्रामीण क्षेत्रमा भारतबाट आउने विरामीलाई अस्पताल पठाउने प्रचललन देखिएको भन्दै स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा शंकास्पद मानिसको पहिचान गरेर मात्रै पठाउन आग्रह गरे ।

Feature Image: Symbolic

कमेन्ट गर्नुहोस्