२ किलोमिटर लामो उखु ट्रकको लाइन, काटिएको उखु सुक्न थालेपछि सयौं किसानको बिचल्ली

बेलौरी । चिनी मिल बन्द छ, बाहिर दर्जनौंको संख्यामा ट्रक उभिएका छन्, काटेको उखु बोकेर ।

किसानले बर्षदिनभरि मेहनत गरेर, बैंकबाट ऋण लिएर उखु उत्पादन गरेर कटाई गरेको बेला लकडाउनको घोषणा भएपछि अहिले बेहाल अवस्थामा पुगेका हुन ।

घटना कञ्चनपुर जिल्लाको बेलौरीको हो । बेलौरीमा रहेका महाकाली चिनी मिललाई सुरक्षाकर्मीले कोरोना संक्रमणको कारण देखाई बन्द भएपछि समस्या उत्पन्न भएको हो ।

उखु प्लाष्टिक जस्तो बस्तु होइन, एकपटक काटेपछि तीनचार दिनमा पेल्न सकिएन भने सुकेर जान्छ ।

नेकपा क्षेत्र नं. १ का संयोजक पल्लव भट्टका अनुसार काटिसकेको उखु राती चलाएर भएपनि पेल्नुपर्ने अवस्थामा काटिसकेको उखु पेल्न समेत नदिई मिल बन्द गर्दा किसानहरु बिचल्लीमा परेका हुन ।

“बेलौरी भित्र नगरपालिका भित्रका भारततिरका नाका डोजर लगाएर बन्द गरिएको र आवागमन रोक्न स्थानीयले समेत गस्ती गररहेको बेला डराउनुपर्ने थिएन ।” भट्टले भने, “मिलमा स्थानीय किसान नै काम गरिरहेका छन् र कोही पनि भारत जाने या आउने गरेका छैनन । स्थानीय प्रशासनले सही रिपोर्ट गरेको भए समस्या आउने थिएन ।”

समस्या आएपछि किसान व्यवसायी तथा आफूहरुले कृषि मन्त्री घनश्याम भुसाल र उद्योग मन्त्री लेखराज भट्टको ध्यानाकर्षण गराएको भट्टले बताए ।  काटिएको उखु त्यसै सुक्न नदिन उद्योग मन्त्रालयले पहल भने नगरेको होइन । स्थानीयबाट खबर आएपछि मन्त्रालयले उखु मिल सञ्चालन गर्न आदेश पनि दियो । तर केही व्यक्तिले बिरोध गरेपछि मिल पुनः बन्द भएको छ ।

“सुरक्षाकर्मीले कारण नबुझी मिल बन्द गराएपछि उद्योग मन्त्रीज्यूलाई जानकारी गरायौं । वहाँले सबै कुरा बुझेपछि काटेको उखु पेल्न मात्रै समय दिने गरी उद्योग सञ्चालन गर्ने अनुमति पनि पाइयो ।” भट्टले भने, “तर निर्देशन आएको केही घण्टा नबित्दै पुनः स्थानीय प्रशासनले मिल बन्द गरेको छ ।”

बाहिर ढोका बन्द गरेर भित्र मिलमा काम गर्दा समस्या नहुने अवस्थामा केही स्वार्थी व्यक्तिको कुरा सुनेर प्रशासनले दुख दिएको उनले बताए । “बाहिरबाट कोही आएका छैनन, सबै कामदार स्थानीय हुन । न बाहिर कोही जान्छन् नै ।” भट्टले भने, “यस्तो अवस्थामा संक्रमण देखाएर मिल बन्द गर्न खोज्नु गलत हो । आवश्यक सतर्ककता सहित काम सुचारु गर्न दिनुपर्यो नत्र राज्यले क्षतिपूर्ति दिनुपर्यो ।”

यसअघि देखि नै मिलको बिरोधमा उत्रेका केही व्यक्तिले सरकारले निर्णय गरेपछि लिखित पत्र चाहिने भन्दै बिरोध शुरु गरेको बुझिएको छ । अहिले कलकत्तादेखि शिवनगरसम्म दुई किलोमिटर लामो सडकमा उखु बोकेका ट्रकहरु उभिएका छन् ।

उता पुनर्वासस्थित भागेश्वरी मिल भने निर्वाधरुपमा सञ्चालन भइरहेको छ । बेलौरीको मिल बन्द गराएर पुनर्वासको मिलमा उखु लैजानुपर्ने बाध्यता सिर्जना गर्न केही व्यक्तिले बिरोध गरेको स्थानीय बताउँछन् ।

उद्योग मन्त्रालयले भने यो विषयमा सरकारका अन्य निकायलाई समेत जानकारी गराएर आवश्यक समन्वय गरेको बताएको छ । किसानको गुनासो सुनेपछि सल्लाह गरेर अहिले काटिएको उखु पेल्ने समयसम्मका लागि उद्योग खोल्न दिने भनिएपनि मिलविरोधी केही व्यक्तिले बिरोध गरेका कारण प्रशासनले बन्द गरेको सुनिएको र यसका लागि पुनः पहल गरिएको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ । ‘पुन समस्या आएको खबर आएको छ । हामी आवश्यक पहल गछौं । किसानलाई मर्का पर्न दिँदैनौ” सचिवालयले भन्यो ।

स्थानीयवासीले भने सुरक्षा दिएर उखु पेल्न लगाउने या क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

कमेन्ट गर्नुहोस्