भारतमा रोकिएका ९ बुलेट ग्यास नेपाल भित्रिए

नेपालगञ्जः सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्यासका बुलेट बिहीबार दिउँसो स्थानीय प्रशासनको पहलपछि नेपाल भित्रिएका छन् ।

भारतको गोन्डा डिपोबाट ग्यास भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा पुगेका ती बुलेटहरु उतै रोकिएका थिए ।

बाँकेमा रहेको मनकामना ग्यास र भेरी ग्यास उद्योगका लागि आएका ती बुलेटलाई भारतीय भन्सारमा कागजपत्र दिएर भित्र्याउनका लागि बिहीबार बिहान ग्यास उद्योगका कर्मचारी सीमापारी जान खोज्दा एसएसबीले जान नदिएपछि बुलेट भित्रिन सकेका थिएनन् ।

तर, नेपाल आयल निगमको आग्रहमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले पहल गरेर भारतीय सुरक्षा अधिकारीहरुसंग कुरा गरेपछि उद्योगका कर्मचारीलाई सीमापारी जान दिईएको मनकामना ग्यास उद्योगका कर्मचारी मधु भण्डारीले बताए ।

‘हामीले आयल निगममा खबर गरेका थियौ, निगमका प्रमुखले प्रजिअलाई आग्रह गरेपछि सीमापारी जान दिएकोले बुलेटहरु भित्रिएका छन् ।’ भण्डारीले भने ।

उनले रोकिएका बुलेटहरुमा ४ वटा मनकामना र ५ वटा भेरी ग्यास उद्योगका बुलेटहरु रहेको बताए । बुधवारसम्म ग्यासका बुलेटहरु सहज रुपमा भित्रिए पनि बिहीबारदेखि एसएसबीले अवरोध शुरु गरेकोले समस्या हुनसक्ने बाँकेका ग्यास उद्योगहरुले जनाएका छन् ।

नेपालगञ्जको राँझास्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेलले बिहीबार बिहान ग्यासका बुलेट भित्रिन समस्या भएको जनाउँदै प्रशासनको पहलपछि बुलेट भित्रिएको बताए ।

कमेन्ट गर्नुहोस्