बेलायतमा कोरोनाबाट दोस्रो नेपालीको ज्यान गयो

काठमाडौंः बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट अर्का नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् ।

बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनको यही सोमबार मृत्यु भएको हो । बिरामी परेपछि गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट उनको मृत्यु भएपछि आएको हो । जसमा कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

प्रशान्त दक्षिणपूर्वी लन्डनको प्लमस्टिडमा बस्दै आएका थिए। उनको क्वीन एलिजाबेथ अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो। प्रशान्तका नातेदार पदम कार्कीले उनको निधन कोरोनाबाट भएको जानकारी क्वीन एलिजावेथ अस्पतालले फोनबाट दिएको बताएका छन्। कार्कीले अस्पतालबाट अर्यालको मृत्यु कोरोनाबाटै भएको जानकारी बुधबार आएको उल्लेख गरे।

अर्यालमा कोरोनाका लक्षणण देखिएपछि अस्पताल लगिएको थियो। उनको पु्र्ख्यौली घर चितवन हो। उनी परिवारसहित लण्डनमा बस्दै आएका थिए। प्रशान्तको मृत्यु भएपछि उनको परिवारलाई नै घरमै आइसोलेसनमा राखिएको छ। तर परिवारका सदस्यहरुमा कोरोना कुनै लक्षण नदेखिएको र सबैजना स्वस्थ रहेको कार्कीले बताएका छन्।

अर्यालको कोरोनाबाट मृत्यु भएको पुष्टि बेलायतमा बस्दै आएका नारायण गाउँलेले पनि गरेका छन्। बेलायतस्थित नेपाली दूतावासले अर्यालको परिवार सम्पर्कमा आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्