लकडाउनमा बाहिर निस्केपछि दाईले गरे भाइको हत्या

मुम्बई । कोरोना भाइरस रोक्नका लागि सरकारले जारी गरेको लकडाउनको निर्देशनका कारण संक्रमण फैलिनबाट रोकिएपनि जनजीवन भने अस्तव्यस्त बनेको छ ।

कतिपय मानिसहरुको जागिर छुटेको छ भने कैयन बेघर पनि भएका छन् ।

लकडाउनको सबैभन्दा बढी असर मजदूरी गरेर जीविका चलाउनेहरुको जीवनमा परेको छ ।

भारतमा लकडाउनका कारण अहिले गरिब तथा मजदूरहरु सबैभन्दा बढी प्रताडित बनेका छन् । यातायातको साधन बन्द हुँदा कैयन व्यक्ति सयौं किलोमिटर हिंडन समेत बाध्य बनेका छन् ।

यस्तै एउटा दुखदायी घटना भारतमा घटेको छ ।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार, जागिर छुटेपछि घर आएको भाइले घरमा शान्ति पाउनुको साटो मृत्युको सामना गर्नु परेको छ ।

मुम्बईको कान्दिवाली इष्टमा बसोबास गर्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका आफ्ना भाई दुर्गेसको हत्या गरेका छन् ।

प्रहरीका अनुसार, राजेसले भाईलाई लकडाउनको बेला घरबाट बाहिर नजान भनेका थिए । तर दाईको आदेश नमान्दै भाई भने घरबाहिर निस्किन पुगे ।

भाई दुर्गेस पुनामा वेटर काम गर्ने र लकडाउनको बेला घर आएका थिए । लकडाउनका कारण एक हप्ता अघि मात्रै उनको जागिर गुमेको थियो । त्यसैले उनी मुम्बईमा रहेका दाईकहाँ आएका थिए

भारतमा बुधबारदेखि लकडाउन भएपछि राजेशले भाई दुर्गेशलाई घरबाहिर नजान भने । यही कुरामा दुबैका बीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे ।

घाइते दुर्गेसलाई अस्पताल लगियो तर डाक्टरले उनलाई मृत घोषणा गरे ।
लकडाउनमा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाईको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्