संसारको सबैभन्दा धेरै संक्रमित भएको देश बन्यो अमेरिका

न्यूयोर्य । कोरोना भाइरस संक्रमणको इतिहासमा अमेरिकाले रेकर्ड कायम गरेको छ ।

पछिल्लो दुई दिनमा संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि अमेरिका संसारमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बन्न पुगेको छ ।

आज बिहान ६ बजेसम्मको तथ्यांक अनुसार, अमेरिका जम्मा ८५ हजार २ सय २ जना संक्रमित भएका छन् भने १२९० जनाको मृत्यु भएको छ ।

शुरुका दिनमा संक्रमित नदेखिएको अमेरिकामा एकाएक संक्रमण बढ्दै गएको थियो ।

सबैभन्दा धेरै संक्रमित न्यूयोर्क राज्यमा देखिएका छन् । न्यूयोर्क राज्यभित्र पनि न्यूयोर्क शहरमा २३ हजार बढी संक्रमित भएका छन् । पछिल्लो दिनमा मात्रै क्रिटिकल केयरमा बस्ने बिरामीको संख्या एकाएक बढेको छ ।

अमेरिकापछि दोश्रो ठूलो ३संक्रमित हुने देश चीन रहेको छ । चीनमा पछिल्लो समयमा नयाँ संक्रमणको घटनामा निकै कमी आएको छ । हालसम्म ८१ हजार २८५ जन संक्रमित देखिएका छन् ३ हजार २ सय ८७ को मृत्यु भएको छ । चीनमा ९१ प्रतिशत बिरामी निको भएका छन् । चीनले कोरोना भाइरसविरुद्ध चालेको आक्रामक घेराबन्दीको रणनीतिका कारण मृत्यु हुनेको संख्या निकै कम भएको हो । अहिले चीनमा ३ हजार ९ सय ४७ मात्रै एक्टिभ केस रहेका छन् ।

तेश्रो नम्बरमा इटाली परेको छ । शुरुका दिनमा निकै संक्रमण बढेको इटालीमा पछिल्लो दिनमा तुलनात्मकरुपमा स्थिरता देखिएको छ । इटालीमा अहिलेसम्म ८० हजार ५ सय ८९ संक्रमित देखिएका छन् भने मृत्यु हुनेको संख्यामा भने इटाली सबैभन्दा अगाडि रहेको छ । हालसम्म ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्