जनताले प्रश्न उठाएपछि क्वारेन्टाइनबाटै फेसबुक लाइभ गरिन न्यूजिल्याण्डकी प्रधानमन्त्रीले

न्युजिल्याण्ड : न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्डेनले कोरोना भाइरस महामारीबारे घरबाटै फेसबुक लाइभ मार्फत जनताहरुलाई सम्बोधन गरेकी छन् ।

होम क्वारेन्टाइनमा बसेकी जकिन्डाले बुधबार कोभिड १९ बारे उठेका प्रश्नको जवाफ दिएकी हुन् । कोरोना भाइरस रोकथामका लागि सिंगो देश नै आइसोलेसनमा रहेका बेला प्रधानमन्त्रीले अनौपचारिक पहिरनमै रहेर घरभित्रबाट भिडिओमा देखिएकी हुन् ।

हरियो जम्परमा देखिएक जकिन्डाले अनौपचारिक पहिरनका लागि माफी समेत मागेकी थिइन् । यस क्रममा उनले आफ्नी छोरीलाई ओच्छ्यानमा राखेर फेसबुक लाइभमा आएको बताएकी थिइन् ।

बुधबार न्युजिल्याण्ड सरकारले आफ्ना नागरिकहरुलाई टेक्स्ट म्यासेज पठाउँदै सबैलाई आफ्नो घरमै दूरी कायम गरी बस्न आग्रह गरेको थियो । प्रधानमन्त्री जकिन्डाको उक्त भिडिओ ३० लाख ५० हजार दर्शकले एकैपटक हेरेका थिए ।

जब कि, न्युजिल्याण्डमा २ सय ८३ जना संक्रमित भेटिएका छन् । तर मृत्युको घटना अहिलेसम्म भएको छैन । तर बुधबार प्रधानमन्त्रीले संक्रमण ह्वात्तै बढ्नसक्ने भन्दै नागरिकहरुलाई सचेत गराएकी थिइन् ।

कमेन्ट गर्नुहोस्