कोरोना राहत कोषमा पूर्वराजा शाहद्वारा २ करोड सहयोग गर्ने घाेषणा

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको बताएका छन्।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट अमेरिकामा नेपालीको मृत्यु

पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सु-सूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन्।

याे पनि पढ्नुस  कोरोना भाइरसः चैत ६ गतेबाट सुरु हुने एसईई के होला ?

‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौं,’ उनको सन्देशमा भनिएको छ, ‘दुःख–कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।’

कमेन्ट गर्नुहोस्