‘निजि अस्पतालहरुलाई सरकारीकरण गर्नुपर्छ’

सांसद राम कुमारी चौधरी

आज विश्व कोरोना भाइरस(कोभिड–१९)को महामारीबाट आक्रान्त भैरहेको छ । संसारका सबै देशहरू आ–आफ्नो क्षमताअनुसार कोरोनासँग लडिरहेका छन् ।

चीनले आफ्नो देशमा कोरोना नियन्त्रण गरिसकेको अवस्था छ भने इटली, स्पेन, अमेरिका, इरानजस्तो विकसित मुलुकहरूमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । युरोप जस्तो विकसित सम्पन्न मुलुकहरु कोरोनासँगको लडाईंमा विजय हासिल गर्न मुस्किल परिरहेको अवस्था छ ।

दक्षिण एसियाको चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना विश्वभर फैलिसकेको तर एसियाकै मुलुकहरूमा भने मन्द गतिमा फैलिरहेको छ । युरोप, अमेरिकापछि कोरोना महामारीको केन्द्र दक्षिण एसियामा चीनपछिको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा पर्ने र भारत, चीनबीचमा अवस्थित रहेको नेपाल केन्द्र बन्न सक्ने संकेत विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै आएको कुरा सबैमा सर्वविदितै छ ।

नेपाल सरकारले नेपाली जनताको स्वास्थ्यलाई र कोरोना महामारी फैलिने सम्भावनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक उडान, सवारी साधन, उद्योग कलकारखा, स्कुललगायत पूर्ण रूपले बन्द गरिएको छ । चैत्र १० गतेदेखि २५ गतेसम्म देश नै ‘लकडाउन’ गरि सम्पूर्ण नेपाली जनता लाई आ–आफ्नो घरमा बस्न आहवान गरिएको छ ।

यो परिस्थिति अझै महिनौंसम्म लम्बिन सक्ने अवस्था हामी सबैले बुझिराखेका नै छौं । गरि खाने मजदुर, ज्यालादारीहरूको लागि सरकारले दुई छाक खाने बस्ने व्यवस्था मिलाउन संघीय सरकारले प्रदेश र स्थानीय सरकार लाई निर्देशन गरिसकेको छ ।

याे पनि पढ्नुस  सांसदको कोरोना परीक्षण (तस्बिरसहित)

सम्भावित कोरोना संक्रमित बिरामीहरूको उपचारको लागि आवश्यक व्यवस्था मिलाइ सकिएको छ । यसको लागि सम्पूर्ण साना ठूला सरकारी अस्पतालहरू तयारी अवस्थामा छन् । तथापी, यो पर्याप्त भने होइन । कुनै कारणवस बिरामीको संख्या तीव्र गतिमा बढ्यो वा परिस्थिति लम्बिँदै जाँदा निश्चित छ कि देशको अर्थतन्त्रले धान्न मुस्किल त हुन्छन नै साथै अर्थतन्त्र नै धरासाही हुने अवस्था नहोला भन्न सकिन्न ।

यसै सन्दर्भमा सरकारलाई केही सुझाव तथा ध्यानाकर्षण गराउन चाहन्छौं ।

(१) अहिलेको अवस्थामा प्राइभेट (निजी) अस्पतालहरुले सामान्य बिरामीहरु उपचार्थ पुग्दा बिरामीहरुलाई उपचार दिने भन्दा पनि सामान्य चेक जाँच गरि सरकारी अस्पतालहरुमा रिफर गर्ने वा अस्पतालहरुले गेटबाट नै फर्काउने समाचारहरु बाहिर आइरहेका छन् । हाम्रो देशमा महामारी तीव्र गतिमा फैलिने हो र प्राईभेट अस्पतालहरुले अहिलेको प्रवृत्ति कायम राख्ने हो भने सरकारी अस्पतालहरुले मात्रै सेवा पुर्याउन असम्भव नै हुन्छन् । सरकारले यस्तो संवेदनशिल परिस्थितिमा प्राईभेट अस्पतालहरुलाई नेपाली जनताको स्वास्थ्यमा खेलवाड नगरी उपचार गर्ने र गराउने कडा निर्देशन दिइनु पर्दछ ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (LIVE)

सरकारी स्वास्थ्यकर्मीहरु भन्दा ठूलो संख्यामा रहेको प्राईभेटमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा बिमा प्रदान गरि परिचालन गर्न आवश्यक छ । देश र जनताप्रति उतरदायी भइ सरकारले आवश्यक पर्दा सम्पूर्ण प्राईभेट अस्पतालहरुलाई सरकारीकरण गर्न तयार हुनुपर्दछ ।

(२) प्रहरी प्रसाशन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय युवाहरुको कमान्ड गठन गर्नुपर्दछ । कोरोनाबाट बच्ने र जनतामा सेवा पुर्याउने तालिमहरु प्रदान गरिनुपर्दछ र परिचालन गर्नुपर्दछ । गाउँघरको सुरक्षा, महामारीसम्बन्धी चेतना जगाउन र सम्पूर्ण सेवाहरु घरघरमा पुर्याउन स्थानीय युवाहरुको जमिलिसियाहरु गठन गर्नुपर्दछ ।

यदि लामो समयसम्म अहिलेको परिस्थिति हामी सामु खडा भैरह्यो भने पनि हामी र हाम्रो देश लडी रहन सक्छौं ।

(३) ‘लकडाउन’को अवस्थामा जनतालाई चाहिने अति आवश्यक पर्ने खाद्यान्न, औषधि, ग्यास, दुध आदी पसलहरु नियमितरुपमा सञ्चालनमा रहेता पनि कृतिम अभावहरु सिर्जना गरि कालोबजारी गर्ने गरेको समाचारहरु आइरहेकै छन् । यसलाई पूर्णरुपले नियन्त्रण गरिनुपर्दछ ।

सकेसम्म स्थानीय सरकार अन्तरगत वडाहरुमार्फत सम्पूर्ण अतिआवश्यक सामानहरु जनमिलिसियाहरुमार्फत जनताको घरघरमा पुर्याउने व्यवस्था मिलाउनु पर्दछ ।

(४) नेपालको अर्थव्यवस्थालाई धरासाही हुनबाट जोगाउन कोरोना संक्रमण हुनबाट जोगिने विधि अपनाउने वा खोजी गरि उत्पान हुने क्षेत्रहरुको पहिचान गरि काममा परिचालन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

याे पनि पढ्नुस  नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

(५) नियमित रुपमा काम गर्ने सरकारी कर्मचारी, प्राईभेट कम्पनीहरुको कर्मचारी, मजदुर, किसानहरुको पहिचान गरि काममा परिचालन गर्ने । काममा खटिनु अगाडि र पछाडि आवश्यक चेक जाँचपछि आफ्नो क्याम्पमा जाने बस्ने व्यवस्था मिलाउनु पर्दछ । काममा खटिनेबाहेकको हकमा ‘लकडाउन’ पूर्णरुपले मान्नुपर्ने व्यवस्था मिलाउनु पर्दछ ।

(६)सम्पुर्ण सार्वजनिक स्थलहरु, कोलोनीहरुको मुल गेट, गाउँघरका मुख्य प्रवेशद्वार, शहरका मुख्य ठाउँहरुमा चेकजाँचको व्यवस्था मिलाउनु पर्दछ ।

(७)उद्योग, कलकारखानाहरु, कार्यलयहरुमा आवश्यक अत्याधुनिक स्वास्थ्य उपकरण चेकजाँचको व्यवस्था, कोरोना सुरक्षा कवजको व्यवस्था मिलाई संचालनमा ल्याउनुपर्दछ ।

(८) नेपाल कृषि प्रधान देश हो । कृषि उत्पादन केन्द्रिय कार्यक्रम बनाई कृषकहरुलाई कोरोनाबाट बच्ने तरिका र आवश्यक कोरोना सुरक्षा कवज प्रदान गरी कृषि उत्पादनमा जोड दिनुपर्दछ ।

(९) कोरोनोजस्तो महामारी चौतर्फी फैलिरहेको परिस्थितिमा देश र जनताको सेवाको काममा सरकारको योजना अनुरुप काममा खटिएका जोकोही नेपाली नागरिकहरुको हकमा सुरक्षा बिमाको ग्यारेन्टी गरीनु पर्दछ ।

(१०) आफू पनि सुरक्षित रहौं । अरुलाई पनि सुरक्षित रहन मदत गरौैं । यो संक्रमनकालीन अवस्थामा हामी सबै एकजुट भएर धैर्य धारण गरि सरकार लाई सहयोग गरौं ।

कमेन्ट गर्नुहोस्