प्रचण्ड र ओलीबीच भेट : सीमामा अलपत्र नेपालीकाे समस्या र मजदुर, असहायलाई राहत दिन प्रचण्डको अनुरोध

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट परेको असरबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन ।

दुई नेताबीचको भेटका अवसरमा कोरोना भाइरसको संक्रमणले सिर्जना गरेको परिस्थितिबारे गम्भीर छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डका मुख्य स्वकीय सचिवका गंगा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमको प्रशंसा गर्दै थप पहलको आवश्यकता औंल्याएका थिए ।

अध्यक्ष प्रचण्डले सुदूरपश्चिम नेपालको दार्चुला, बैतडीलगायत भारतसँग सीमाना जोडिएका सीमा नाकामा सयौं नेपाली अलपत्र परेकोले उनीहरुलाई फिर्ता ल्याउन सरकारले पहल गर्न अनुरोध गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

भारतीय पक्षले नै नेपालीलाई समेत संरक्षण दिने भनिए पनि खानपीन तथा क्वारेन्टाइनको अवस्था दयनीय रहेको सूचना आएकाेले यसतर्फ सरकारले तत्काल ध्यान दिन आग्रह गरेका थिए ।

यसअघि सुदूरपश्चिमका सीमा नाकामा चार पाँच दिनदेखि नेपालीहरु अलपत्र परेको विषयमा नेकपाका प्रदेश तथा जिल्लास्तरबाट अध्यक्ष प्रचण्डको ध्यानाकर्षण भएको थियो ।

यसैगरी मुख्यमन्त्रीले समेत प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

आजको भेटघाटका अवसरमा अध्यक्ष प्रचण्डले लकडाउनको प्रभाव सीमान्तकृत मजदूर, असहाय, गरिब तथा विपन्न वर्गमा परेको भन्दै सरकारले तत्काल राहत तथा सहयोगका अभियानलाई तीब्रता दिनुपर्नेमा समेत जोड दिएका थिए ।

याे पनि पढ्नुस  निर्धारित समयमा काम गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन प्रमको निर्देशन

लकडाउनबाट खासगरी दैनिक ज्यालादारी गर्ने मजदूर तथा गरिब वर्गलाई हातमुख जोर्ने समस्या चुलिएको बताउँदै प्रचण्डले केन्द्रीय तहबाट स्थानीय तहसँगको समन्वयमा तत्काल कार्यक्रमको घोषणा गर्नुपर्ने बताएका हुन् ।

दुबै नेताबीच चीनबाट मेडिकल सामग्री आयातबारे उठिरहेको चर्चाका बारेमा समेत छलफल भएको थियो । सरकारले चीनबाट सामान आयातको ठेक्का रद्द गर्ने निर्णय गरिसकेको छ ।

अध्यक्ष प्रचण्डले सरोकार राखेका विषयमा प्रधानमन्त्री ओलीले निकै सकारात्मक प्रतिक्रिया दिँदै सरकारले संक्रमणविरुद्ध राहत तथा उद्दारका लागि सक्दो पहल गरिरहेको बताएका थिए ।

याे पनि पढ्नुस  नेकपामा बलियो हुँदै प्रचण्ड कमान, अराजकताविरुद्ध कसिलो लगाम

स्थानीय तहदेखि केन्द्रीय सरकारले समेत जनतालाई अप्ठ्यारो पर्न नदिन आपूर्ति व्यवस्था सहज बनाएको, सबै प्रदेशमा जाँच गर्ने तयारी शुरु भएको बताएका थिए । सीमामा अलपत्र नेपाली लगायत कतिपय विषयमा सरकारको ध्यानाकर्षण भएकोले आवश्यक पहल गर्ने समेत प्रधानमन्त्रीले बताएका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले यसअघि चिनियाँ राष्टपतिलाई पत्र लेख्दै नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि आवश्यक सहयोगका लागि अनुरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस्