‘लकडाउन’का कारण प्रभावित कृषकलाई राहतका कार्यक्रम घोषणा गर्न किसान सञ्जालको माग

काठमाडौंः राष्ट्रिय किसान सञ्जालले ‘लकडाउन’का कारण किसान प्रभावित भएकाले उनीहरुलाई छिटो राहतका कार्यक्रम घोषणा गर्न सरकार समक्ष माग गरेको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै सञ्जालले ‘लकडाउन’का कारण किसानलाई हिउँदे बाली भित्र्याउन, चैते धान तथा ग्रीष्मकालीन तरकारी लगाउन, दूध, अण्डा, तरकारीको बिक्री÷वितरण र कृषिका लागि मल, बिउ, दाना लगायत अत्यावश्यक सामग्रीको उपलब्धतामा समस्या भएकाले किसानलाई राहतका कार्यक्रम छिटो घोषणा गर्न माग गरेको हो ।

सञ्जालका संयोजक नहेन्द्र खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यथाशक्य छिटो लकडाउनबाट प्रभावित किसानलाई राहतका कार्यक्रम घोषणा गर्न, किसानले उत्पादित बाली र अन्य कृषि उपजको बिक्री वितरणको वातावरण तयार गराउन र दाना, चारा, मल, बिउ लगायतका कृषिका लागि आवश्यक सामग्रीको सुलभ रुपले उपलब्ध गराउन नेपाल सरकारसँग राष्ट्रिय किसान सञ्जाल जोडदार माग गर्दछ ।’

साथै सञ्जालले सम्पूर्ण किसानलाई ‘लकडाउन’को पालना गर्न र कोरोना भाइरसबाट जोगिन अनुरोसमेत अनुरोध गरको छ ।

कमेन्ट गर्नुहोस्