खुला सीमाको फाइदा उठाउँदै रातभर माइती–ससुराली आउनेको लर्को

विराटनगरः खुल्ला सीमानाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीय पिरोलिएका छन् ।

भारतमा कोरोना संक्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको संख्या बढेपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण चिन्तामा परेका हुन् ।

नेपाल र भारतको मुख्य नाका रानी–जोगबनीमा ढाट लागेको छ । तर, रानी ढाट एक किलोमिटर पूर्व मटेर्वा र इश्लामपुरादेखि सुनवर्षि नगरपालिका डायनियासम्म खुल्ला सीमानाका छ ।

खुल्ला सीमानाकाको ६३ किलोमिटर दुरी क्षेत्र दिनभर सुनसान हुने गरेपनि साँझ परेपछि माइती–ससुरालीका पाहुँनाको ताँती लाग्ने गरेको हो ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाँई र बुहारीको नाता छ । वैध र अवैध दुवै खालको व्यापारदेखि नाता र सम्बन्ध जोडिएका क्षेत्र भएपनि कोरोना संन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा परेका छन् ।

याे पनि पढ्नुस  जंगे पिलरलाई सीमा आधार बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायको उपस्थिति रहने गरेका कारण दिउँसो नाका सुनसान रहने गरेको हो । तर, साँझ परेपछि दुवैतर्फ खुल्ला हुन्छ । रातभर पूरै खुल्ला हुने भएपछि यहि मौकामा नेपाल आउनेको लर्को लाग्ने गरेको सार्वजानिक माध्यमिक विद्यालय जहदाका शिक्षक अजय सिंहको गुनासो छ ।

जहदाको नोचा, डमुरिया र तारिगामा नाकाबाट दैनिक २५० को हाराहारीमा नेपाल प्रवेश गर्ने गरेकोे शिक्षक एवं स्थानीयवासी सिंहको भनाई छ । स्थानीयले यसरी सीमानाका हुँदै आउनेलाई रोक लगाउने प्रयास समेत गरिसकेका छन् । तर, नेपालमा रहेका आफन्त भेटघाट गर्न आएको भनेपछि उनीहरुका आफन्तसँग सम्पर्क गर्दै यकिन गरेर छोड्नुपर्ने बाध्यता छ ।

याे पनि पढ्नुस  सीमामा अलपत्र नेपाली १६ सय रुपैयाँ तिरेर स्वदेश फर्किँदै

साँझ परेसँगै लक डाउन खुकुलो गरिएपछि दुवैतर्फका नागरिकको आवात–जावतको बाटो खुल्ने गरेको छ । सीमापारी भारतीय बजारसम्म पुगेर आवश्यक पर्ने सामग्री ल्याउने काम अहिले पनि भईरहेको जहदाका अर्का स्थानीय कैलाश मण्डलको दावी छ ।

भारतमा काम गरेर नेपाल आउनेहरुले समेत अहिले सहायक नाकालाई प्रयोगमा ल्याउने गरेको सीमासँग वस्ती जोडिएका स्थानीयहरुको दावी छ । भारतको सीमा नजिकै आईपुगेका उनीहरुले साँझपरेपछिको मौकालाई छोप्दै सहायक नाका प्रयोग गरेर नेपाल आउने धनपालथान गाउँपालिका–२ का पशुपति पासवासले जानकारी दिए । धनपालथानमा मायागञ्ज छोटी भन्सार नजिकै खयरबोना नाका हुँदै नेपाल आउने पनि दैनिक उतिकै हुने गरेका हुन् । नेपाल आउनेमा समेत अधिकांश पाहुना हुने गरेको पासवान बताउँछन् ।

याे पनि पढ्नुस  भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाइने

नेपाल प्रवेश गर्नेहरुले रातीको समयलाई मौका मान्दै आएका छन् । जहदा गाउँपालिका–४ बुधनगरका नितेशकुमार साह सुरक्षा निकायसँग सहकार्य गरेर नेपाल प्रवेश गर्नेलाई रोक लगाउने विषयमा योजना बनाईरहेको बताउँछन् ।

मोरङमा मुख्य नाका रानीसहित जहदा गाउँपालिकाको तारिगामा, मधुमल्ला, डमुरिया, धनपालथानको मायागञ्ज, खयरबोना, गडरीया, कदमाहा रंगेली नगरपालिका–६ को रंगेली र सुनवर्षी नगरपालिका–८ असनगढी, रतुवामाई नगरपालिकाको चुनीबारी, डोरीया र चौकीघाट र सुनवर्षि नगरपालिकाको डायनिया छोटी भन्सारसहितको आवात–जावत हुने क्षेत्रमा पर्दछ । यीमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका छोटी भन्सार धनपालधान गाउँपालिका–३ मायागंज, रंगेली नगरपालिका–६ को रंगेली र सुनवर्षी नगरपालिका असनगढीको डायनिया रहेका छन् । गोरखापत्र अनलाइनबाट

कमेन्ट गर्नुहोस्