ट्रम्प र उनका समर्थकहरू बर्बादीको अन्तहीन रसातलतर्फ उन्मुख- नोम चोम्स्की

“विश्वसँग बेलैमा पर्याप्त जानकारी उपलब्ध भैसकेकाले कोरोना भाइरसको प्रकोपलाई बेलैमा रोक्न  सकिन्थ्यो” प्रख्यात अमेरिकी भाषाविद् एवं विश्लेषक  चम्स्कीले बताएका छन्।  यसका साथै उनले यस वैश्विक महामारीको अन्त्यपछि पनि  दुई खतरनाक जोखिमहरू आणविक युद्ध र वैश्विक  तापमान वृद्धिका रूपमा रहिराख्ने चेतावनी दिएका छन्।

आफ्नो ‘सेल्फ-आइसोलेसन’मा रहेको कार्यालयबाट क्रोसियाली दार्शनिक र लेखक स्रेको होर्भाटसँग कुरा गर्दै ९१ वर्षीय भाषाविद्ले यस वैश्विक महामारीलाई विभिन्न देशहरूले कसरी व्यवस्थापन गर्ने गरेका छन् भन्ने बारेमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरे।

“यसबारेमा सबै कुरा पहिलेदेखि नै थाहा थियो। महामारी सुरु हुनुअघि गतवर्ष अक्टोबरमा नै संयुक्त राज्य अमेरिकामा यस्तै किसिमको महामारीसँग जुझ्न एउटा ठुलो स्केलको अभ्यास भएको थियो।”  ‘जोन्स होपकिन्स सेन्टर फर हेल्थ सेक्युरिटी’, ‘वर्ड इकोनोमिक फोरम’ र ‘बिल एण्ड मेलिना गेट्स फाउन्डेसन’ले संयुक्त रूपमा संचालन गरेको ‘इभेन्ट २०१’ नाम दिइएको एउटा अभ्यासको सन्दर्भमा कुरा गर्दै चम्स्कीले भने, “आवश्यक सूचनाहरू पहिलेदेखि नै उपलब्ध रहेकाले यस कोरोना भाइरस महामारीलाई फैलिनबाट रोक्न सकिन्थ्यो।”

“तर यस दिशामा सिन्को समेत भाँचिएन। यस संकटलाई अझ गम्भीर पार्ने काम राजनैतिक व्यवस्थाको धोखाधडीले पनि गर्यो।  किनभने उनीहरूलाई पहिलेदेखि नै सबै कुरा थाहा भएको भए पनि उनीहरूले  ध्यान दिएनन्।”चम्स्कीले भने।

“डिसेम्बर ३१ मा चीनले विश्व स्वास्थ्य संगठनलाई अज्ञात स्रोत रहेको निमोनिया जस्ता लक्षण देखा पर्ने संक्रमण तीव्र गतिमा फैलिरहेको जानकारी दिएको थियो।  यसको एक हप्तापछि केही चिनियाँ वैज्ञानिकहरूले उक्त संक्रमणलाई कोरोना भाइरसको रूपमा पहिचान गरे। त्यसपछि उनीहरूले यसको वर्गीकरण गरे र संसारलाई यसबारे बताए।  त्यसपछि मात्र विश्व स्वास्थ्य संगठनका रिपोर्टहरु पढ्न दिक्क मानिरहेका भाइरस विज्ञानीहरू र अरूले पनि एउटा ‘कोरोना’ भन्ने भाइरस भएको र त्यसविरुद्ध लड्न केही गर्नुपर्ने कुरा थाहा पाए।  त्यसपछि पनि उनीहरूले केही गरे र ? केहीले त पक्कै गरे।” उनले बताए ।

याे पनि पढ्नुस  लकडाउनको उल्लंघनकाे परिणामः कैयन देशमा महामारी विष्फोट, हजारौंको मृत्यु, स्पेनमा हेलिकप्टर परिचालन

“चीन, दक्षिण कोरिया, ताइवान र सिंगापुरले यस दिशामा ऊ बेला नै कदम चाल्न सुरु गरेका थिए, उनीहरूले यस संकटको उच्चताको पहिलो चरणबारे अनुमान लगाएजस्तो लाग्छ ।”

उनले पश्चिमा राष्ट्रहरूले गरेको तयारी पनि देशैपिच्छे फरक रहेको बताए।  “युरोपमा पनि केही हदसम्म यस्तो भएको छ।  जर्मनीसँग अतिरिक्त निदानात्मक क्षमता थियो र उसले निकै स्वार्थी पारामा यस दिशामा काम गर्यो। उसले आफूले व्यापक निदानात्मक कदमहरू चाल्यो तर अरूलाई भने यस दिशामा कुनै सहयोग गरेको देखिएन, कमसे कम सम्भाव्य संक्रमणको प्रमाण फेला परिसकेको अवस्थामा पनि यस्तो गरिएको देखिएन।

“अरु देशहरूले त झन् यस सम्भावनालाई नजरअन्दाज गर्दै हिँडे । निकै खराब अवस्था त संयुक्त अधिराज्यमा देखियो, झन् संयक्त राज्य अमेरिकामा त सबैभन्दा खराब।” उनले भने, “एक दिन ट्रम्पले भने पनि, ‘यो कुनै संकट होइन,  यो त फ्लु जस्तै हो’ अर्को दिन उनले भने, ‘यो खतरनाक संकट हो र हामीलाई यसबारे थाहा थियो ‘ फेरि अर्को दिन उनले भने, ‘हामीले व्यापारमा फर्किनु पर्छ, किनभने मैले चुनाव जित्नु छ।’ विश्व कस्ता मान्छेहरूको हातमा छ भन्ने सोचेर पनि रन्थनी हुन्छ। ”

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘समाजविरोधी मनोरोगी’को संज्ञा दिँदै चोम्स्कीले कोरोना भाइरस निकै गम्भीर समस्या भएको भन्दै उनले भने, “अब अझै डरलाग्दो त्रासदीका लागि तयार हुनुपर्ने देखिन्छ।  हामी बर्बादीको केन्द्रतिर जाँदैछौँ, शायद मानव इतिहासले आजसम्म देखेभोगेको भन्दा वीभत्स र भयावह। ”

“सम्भवतः कोरोना भाइरस संक्रमणले ल्याउन सकारात्मक प्रभाव भनेको यसले मानिसहरूलाई हामी कस्तो संसार चाहन्छौँ भन्नेबारे सोच्न बाध्य पार्नेछ।”

उनले भने,”ट्रम्प र उनका समर्थकहरू बर्बादीको अन्तहीन रसातलतर्फ उन्मुख छन्।  वास्तवमा  अझ दुई ठुला त्रासद ज्जोखिम रहेका छन्- पहिलो आणविक युद्धको बढ्दो खतरा  र दोस्रो  वैश्विक तापमान वृद्धिको बढ्दो जोखिम। ”

याे पनि पढ्नुस  अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो, विश्वभरी २७ हजार बढीको मृत्यु

“कोरोना भाइरसको प्रभाव विध्वंशकारी हुन सक्छ र पनि त्यसबाट उब्रिन सकिएला’ चम्स्की भन्छन्, “तर अन्य दुई जोखिमहरूबारे बेलैमा नसोचे हामी निश्चित रूपमा नै सिद्धिने छौँ।”

उनले ट्रम्पमाथि इरानमाथि दण्डकारी प्रतिबन्धहरू जारी राखेर  कोरोना संक्रमणसँग जुधिरहेको देशप्रति अन्याय गररेको आरोप समेत लगाए।

“जब अमेरिकाले इरानमाथि ती ध्वंसकारी प्रतिबन्धहरू लगायो, यो काम उसले मात्रै गर्न सक्थ्यो रअन्य देशले उसलाई चुपचाप अनुकरण गर्नु पर्थ्यो, मालिकलाई झैँ। नत्र उसले तिनीहरूलाई वैश्विक वित्तीय प्रणालीबाट लात हानेर धपाउन सक्थ्यो।” चम्स्कीले भने।

चम्स्कीले होभार्टसँग २८ मार्चमा अनलाइन परिचर्चा  गरेका थिए। ग्रीसका पूर्व वित्त मन्त्री यानिस भारोफाकिसले  राजनैतिक दल ‘डेमोक्रेसी इन युरोप मुभमेन्ट २०२५’ले संचालित गरेको ‘महामारीपछिको विश्व’ शीर्षकका परिचर्चाहरूको शृंखला अन्तर्गत उक्त वार्तालाप भएको थियो ।

उक्त परिचर्चाका अन्य वक्ताहरूमा स्लोभेनियाली दार्शनिक स्लाभोज जिजेक र जर्मन-क्रोएसियन नाट्य निर्देशक तथा लेखिका एन्जेला रिचर थिए। चोम्स्कीले आफूले नव-उदारवादविरुद्ध थालेको अभियानको औचित्य पुष्टि हुन थालेको समेत बताएका छन्।

“सम्भवतः कोरोना भाइरस संक्रमणले ल्याउन सकारात्मक प्रभाव भनेको यसले मानिसहरूलाई हामी कस्तो संसार चाहन्छौँ भन्नेबारे सोच्न बाध्य पार्नेछ।” उनले भने, “हामीले यस संकटको सुरुवात कसरी भयो भन्नेबारे सोच्ने समय आएको छ। आखिर कोरोना महा संकट किन आइलाग्यो त ? साँच्चै भन्ने हो भने यो बजारवादको  महान असफलता हो। यसको तार विद्यमान समाज-आर्थिक समस्याहरूलाई सघनीकृत गर्दै आक्रामक बजार विस्तार गर्ने  नवउदारवादी नीतिहरूसँग जोडिएको छ।

“लामो समयदेखि महामारीहरूलाई सामान्य रूपमा लिइने गरियो र यसका प्रभावहरूको सही आकलन गरिएन। पन्ध्र वर्ष पहिले फैलिएको सार्स महामारीकै संशोधित रुपमा रहेको कोरोना महामारी फैलिनुका कारणहरू बारे राम्ररी बुझ्न सकिन्छ।  त्यसबेला यसमाथि सजिलै नियत्रण गर्न सकियो।  भाइरसलाई बेलैमा पहिचान गरियो र भ्याक्सिनहरू निर्माण गर्न सकियो।” चम्स्कीले भने ।

अति निरङ्कुश सत्ताहरू दुरुस्तै नवउदारवादसँग मिल्ने खालका हुनेछन्।

“विश्वभरका प्रयोगशालाहरूमा कोरोना भाइरसको सम्भाव्य समाधानबारे काम भैरहेको हुनुपर्थ्यो, तर उनीहरूले यस्तो गरेको देखिएन। किनभने बजारले यसो गर्न संकेत दिएको थिएन।  हामीले ठुला औषधी निर्माण कम्पनीहरूका रूपमा आफ्नो भाग्य नै त्यस्ता निजी व्यापारिक संस्थानहरूको क्रूर नाफामुखी प्रवृत्तिको हातमा सुम्पिसकेका छौँ, जो स्वभावतः जनउत्तरदायी छैनन्। किन भने उनीहरूको नजरमा कुनै पनि नयाँ शोधमा रकम खर्चनुभन्दा कुनै बडी क्रीम बनाउनु बढी फाइदाजनक हुने गर्दछ। ”

याे पनि पढ्नुस  कोरोना र ट्रम्पः हेर्नुस् राेचक कार्टुन

अमेरिकामा पटक पटक फैलिएको पोलियोको महामारीको सम्झना गर्दै चम्स्कीले उक्त महामारी ‘सल्क भ्याक्सिन’को खोजीपछि मात्र रोकिएको र उक्त भ्याक्सिनको निर्माण सरकारी प्रतिष्ठानले गरेको स्मरण गराए।  उनले भने “यसको भ्याक्सिन ५० को दशकको आरम्भदेखि नै उपलब्ध थियो।  यसको प्रतिलिपि अधिकार सुरक्षित गरिएको थिएन, यो सबैका लागि उपलब्ध थियो। त्यस्तै अहिले पनि गर्न सकिन्थ्यो तर नवउदारवादको रोगले त्यसको बाटो छेकिरहेको छ।”

स्वास्थ्यकर्मीहरूलाई ‘अग्र-मोर्चाका सिपाही’ भनिनु र संयक्त राष्ट्र संघमा महासचिव एन्टोनियो गुटेरसले वर्तमान संकटलाई ‘दोस्रो विश्वयुद्ध यताकै ठुलो संकट’ भनेर चेतावनी दिनु जस्ता ‘युद्ध-कालीन’ शब्दावलीबारे सोधिएको प्रश्नमा उनले व्यापक जनपरिचालन को लागि यस किसिमको शब्दावलीको प्रयोग भइराखेको बताए।

साथै  उत्तर-महामारी कालका विकल्पका रूपमा उनले  ” यसपछि अति निरङ्कुश क्रुर सत्ताहरूको उदयदेखि अत्यधिक मानवीय सरोकार भएको निजी मुनाफा रहित समाजको क्रान्तिकारी पुनर्निर्माणको सम्भावना” रहेको बताए।

“हामीले बुझ्नु पर्ने के छ भने अति निरङ्कुश सत्ताहरू दुरुस्तै नवउदारवादसँग मिल्ने खालका हुनेछन्। ” उनले भने ।

एभरेष्ट दैनिकका लागि अलजजिरामा प्रकाशित समाचारको अनुवाद भुवन निस्तेजले गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्