बन्दीको बन्दना

प्रवासको बन्द कोठामा
दायाँबायाँ कोल्टे फर्कँदै
बाध्यता र विवशताका वीचबाट
एउटा नया संसारको खोजीमा
अमूर्त संसारमा आएको महान परिस्थितिलाई
शिरोधार्य गर्दै
अनि ,
दु:खले ढोका भित्रबाट
मेरा सन्तान आँखामा खेलाउँदै सम्झँदै
म जहाँ जे जस्तो अवस्थामा भएपनि
देशको र सन्तानको
भलो चाहिरहेको म विशुध्द नेपाली
आफू र आफ्नै परिस्थितिको बन्दी नेपाली ।

 

दैनिक१२ घण्टा काममा जोतिनु पर्ने मान्छे
बन्द छुघरको एउटा कोठामा
तर सुखी छ।
किनभने !
आज संसारले
विषम परिस्थितिलाई सामना गरिरहेको छ
यो ठूलो विपत्तिमा
म यहाँ आफ्ना ठाउँबाट
सरकारलाई सक्दो सहयोग गरेकै छु
सरकारले भनेको कुरा अवलम्बन गरेको छु
यद्यपि कताकता पारिवारिक सम्झना
देश, अनि समाजमा
भ्रमपूर्ण समाचार संप्रेषणमा
रमाउने सञ्चारकर्मी
उच्च नेतृत्वमा रहेका
नियम पालन नगर्ने, तर
यो गर, त्यो गर भन्दै
हुकुमी शासन चलाउने कर्मचारी
अनि अटेरी जनता देख्दा
कतै अरू देशमा जस्तै
विषम परिस्थिति त ल्याइँदै छैन
सम्झीसम्झी रातभर ननिदाउने
म विशुद्ध नेपाली ।

 

संसार मै हुँ भन्ने
आज गले, थला परे
न हाँस्न, न रून सके
केही हिजोको कुराबाट पछि हट्दै
शालिनताको पाठमा सरीक भए
अनि आफ्नो गल्तीको प्रायश्चित गर्दै
यस भयावह विश्व परिस्थितिमा
मपाइँत्व छोडेर
समन्वयको मार्ग अवलम्बन गरे
तर म चिन्तित छु यहाँ
मेरा देशका खुल्ला नाका अनि
अबुझ मेरा साथीहरू देखेर ।

 

आफु प्रवाशबाट घर जाँदै गर्दा
आफ्नो जिम्मेवारीको जानकारी हुँदाहुँदै
अटेरी गर्दै
जानीजानी देशमा भयंकर अवस्था सिर्जना गर्ने
ती प्रवासी
जसले पैसा चिने स्वास्थ चिनेनन्
जसले सन्तान चिने खतरा चिनेनन्
जसले परहितमा स्व:हित देखेनन्
जहाँ जानू हुँदैनथ्यो त्यहीँ गए
जे गर्नु हुँदैनथ्यो त्यही गरे
आफ्नो सानो गल्तीको कारण
आईपर्ने ठूलो दुर्दशा चिनेनन्
यस्ता कुरा मनमा लिँदै
देशको सहज परिस्थिति चाहने म
म प्रवासमा रहन बाध्य नेपाली ।

 

हाम्रो भूलले गर्दा
जिरो थियो चार भएको छ
चार ले ४ लाख पुग्न सक्छ
उदाहरणमा अमेरिका,ईटाली हेरौं
खतरा चिनौं
खुल्ला नाका बन्द गरौं
सफाईमा ध्यान दिऊँ
सत्य सूचना सम्प्रेषण गरौं
जिउ रहे कमिन्छ पैसा
देश र जनता सुरक्षित कसरी रहने
यही मन्त्र जपौं
बजारमुखी होइन गाउँमुखी बनौं
पूर्वीय संष्कृति अवलम्बन गरौं
सबैबाट टाढा रहौं
बिरामी नलुकाऊँ
सबै मिलौं
कोभिन १९ बाट हुनसक्ने महामारीबाट बचौं भन्दै
हरपल जनआह्वान गर्ने

म उही विशुद्ध नेपाली – माधवप्रसाद गैरे
हाल युएई ।

कमेन्ट गर्नुहोस्