‘लकडाउन’पछि स्वास्थ्यमन्त्री ढकालको फेरिएको दैनिकी

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) संक्रमणमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको आज चौधौँ (१४) दिन हो ।

लकडाउनको १४औँ दिन पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ । उनको अहिलेको दैनिकी मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ ।

बिहानदेखि रातिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरोकारवाला मन्त्री तथा चिकित्सक र स्वास्थ्यकर्मीसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अपनाइने विभिन्न विषयमा नियमित संवादमा छन् उनी । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ को नियन्त्रण तथा प्रतिकार्यका लागि बनेको सङ्कट व्यवस्थापन समितिको सदस्यका रुपमा रहेका छन् । ती समितिको बैठकमा पनि उनले अनिवार्य सहभागी भएर कोभिड–१९ को न्यूनीरकण तथा नियन्त्रणका लागि सरकारले चाल्नु पर्ने कदमबारे छलफल गर्छन् ।

विभागीय मन्त्री भएकाले पनि जिम्मेवारी अहिले बढेकाले पनि मन्त्री ढकाल अहिले बढी खट्ने गरेका उनका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिए । ‘लकडाउन भएपछि उहाँको दैनिकी फेरिएको छ”, मन्त्री ढकालको भतिजा सौगात ढकालले भने, ‘बिहानदेखि साँझसम्म कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आयोजित बैठकमा व्यस्त हुुनुहन्छ ।’

लकडाउनसँगै उनको दैनिकमा आएको परिवर्तनले उनको साँझको खाने र सुत्ने समय निश्चित छैन । बिहान भने सधैँ ८ बजे खाना खान्छन् । ‘बिहानको खाना भने समयमा नै खानुहुन्छ । त्यसपछि दिउँसो खाजा र रातिको खानाको निश्चित हुँदैन’ उनका भतिजा सौगात ढकालले भने, ‘मन्त्री निवास पुगेपछि सबैसँग फोन संवाद गर्दा उहाँको रातिको १२ बज्छ । त्यसपछि मात्र सुत्नुहुन्छ ।’ राति सुत्नुभन्दा अगाडि कोभिड–१९ का सन्दर्भमा सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रिया हेर्छन् ।

मन्त्री ढकाल अचेल साढे ८ देखि ९ बजेको बीचमा मन्त्रालय पुगिसक्छन् । बिहान मन्त्रालय पुगेपछि सचिव यादव कोइराला विभागी प्रमुख, आफ्ना सचिवालयका सदस्य र चिकित्सकसँगको छलफलमा एक छिन ब्रिफिङ सुनेर सिंहदरबारमा हुने महत्वपूर्ण बैठकमा सहभागी हुन्छन् ।

आकस्मिक बैठकबाहेक उनी मन्त्रालयमा नै रहन्छन् । मन्त्रालयमा बस्दा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, चिकित्सक तथा सञ्चरकर्मीसँग व्यस्त हुनुपरेको स्वकीय सचिव खतिवडाले बताए ।

नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले पनि मन्त्री ढकाललाई थप चुनौती थपिएको छ । विदेशबाट आएकाबाट केही दिनअघि एक जनामा सङ्क्रमण (सोसल ट्रान्समिसन) भेटिएपछि उनले अब कसरी यसलाई रोक्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर लागेका मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए ।

उनले अहिले अरुबेला राजनीतिक पार्टीका नेता तथा कार्यकर्तालाई दिइने समय चिकित्सक र कोरोना नियन्त्रणमा दिएको मन्त्री ढकालका स्वकीय सचिव खतिवडाको भनाइ छ । ‘अहिले उहाँको कसैसँग पनि राजनीतिक कुरा हुँदैन’ उनले भने, ‘कसरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर मात्र उहाँको ध्यान केन्द्रित भएको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर फोन संवाद र आवश्यक परे प्रधानमन्त्री निवास बालुवाटारमा समेत उनी जाने गरेका छन् ।

मन्त्री ढकालको दैनिकजसो बैठकबाहेक दिनमा एकपटक कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्छन् भने दिनमा आवश्यकताअनुसार उनीसँग फोनमा पनि संवाद गर्छन् ।

यसैगरी उनी अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामवहादुर थापा, सांस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग पनि नियमित समन्वय र सम्पर्कमा छन् ।

दिनभरीको व्यस्ततापछि राति ९ बजेतिर मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेका विभिन्न समितिका संयोजकसँग व्रिफिङ लिनुहुने भतिजा सौगातले बताए । वैदेशिक समन्वय, आपूर्ति व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, सूचना व्यवस्थापन, कर्मचारी व्यवस्थापनका संयोजकसँग भएका दैनिक प्रगतिबारे उनले आफैं फोन गरेर व्रिफिङ लिने गर्छन् ।

मन्त्री ढकालले मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीसँग पनि नियमित छलफल गर्छन् । रासस

कमेन्ट गर्नुहोस्