भरतपुर परीक्षण प्रयोगशाला २१ वटै स्वाबको रिपोर्ट नेगेटिभ

चितवन: चितवनमा स्थापित भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको २१ वटै स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबारदेखि काम थालेको प्रयोगशालामा पहिलो पटक चितवनको २० र नवलपरासीको १ जनाको गरि २१ जनाको परिक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला सञ्चालन समितिका संयोजक डाक्टर कृष्णसागर शर्माले जानकारी दिए ।

‘पहिलो दिन भएकोले रिपोर्ट आउने केहि समय लागे पनि अब व्यवस्थीत गरेका छौँ’ उनले भने, ‘हरेक दिन कारोना अस्पतालमा १० बजेसम्म सबै स्वाब संकलन गर्छौं, अनि अर्को दिन १० बजे रिपोर्ट एक दिने गरि काम हुन्छ ।’ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वमा परिक्षणको काम जारी रहेको छ ।

भरतपुरको बाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कृषि तथा वन विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिन पनि ल्याएर जडान गरिएको थियो । प्रारम्भिक चरणमा एक पटकमा ९० वटा नमुना परीक्षण गर्न सक्ने लक्ष्य प्रयोगशालाले लिएको छ ।

ल्याव सञ्चालन गर्नकालागि डिएसएलटु स्तरको बायोसेफ्टी क्याविनेट (जैविक सुरक्षा) को प्रवन्ध मिलाईएको थियो । प्रयोगशालामा २० जनाको प्राविधिक टोलि खटिएको छ ।

कमेन्ट गर्नुहोस्