धनगढीः तीन घण्टामा ९६ जना र दिनमा चार सयको कोरोना परीक्षण गर्न सकिने आरटीपीसीआर मेसिन धनगढी पुगेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको मेसिनलाई बुधबार बिहान नेपाली सेनाको स्काइट्रकमा राखेर धनगढी ल्याइएको हो ।
उक्त मेशिन पशुपन्छी रोग अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरिनेछ । प्रयोगशालाका प्रमुख सहसचिव डा. डिकरदेव भट्टले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर मेसिन जडान गरेर बुधबारदेखि नै परीक्षण थालिने बताए ।
सुदूरपश्चिम प्रदेशका प्रमुख स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आरटीपीसीआर मेसिन जडान भएपछि धेरै सहज हुने विश्वास गरे ।
सुदूरपश्चिममा संक्रमितको संख्या ४ जना पुगेपछि सरकारले त्यहाँ र्यापिड टेस्ट परीक्षण शुरू गरिसकेको छ । अब यो नयाँ आरटीपीसीआर मेशिनले परीक्षण शुरू गरेपछि त्यहाँ परीक्षण तीब्र हुने र त्यसबाट संक्रमति भए/नभएको पहिचान गर्न सहज हुने विश्वास गरिएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिममा संक्रमणको जोखिम उच्च देखिएको र त्यहाँ परीक्षणको दायरा बढाउनुपर्ने भएकाले मन्त्रालयहरुसँग समन्वय गरेर थप मेसिन लगिएको जानकारी दिए ।