‘लकडाउन’मा चैतली मेला सञ्‍चालन गरेको आरोपमा ४ वडाध्यक्षसहित ९ जना प्रक्राउ

चैनपुरः ‘लकडाउन’को उल्लंघन गर्दै बान्नीकी चैतली मेला सञ्‍चालन गरेको आरोपमा बझाङको छबिसपाथीभेरा गाउँपालिकाका ४ वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको छ । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा छबिसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराका अनुसार पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी रहेका छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराले बताए ।

पक्राउ परेका वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वतः स्फूर्त भेला भएको बताएका छन् । मेलामा स्थानीयहरुको भीड रोक्नका लागि प्रशासनले समेत सहयोग नगरेको उनीहरुको आरोप छ ।

यता लकडाउन उल्लंघनको अभियोगमा छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला लगायत केही व्यक्तिको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्