भारतमा एकै परिवारका ८ नेपालीमा कोरोना संक्रमण

काठमाडौंः भारतको मुम्बई स्थित गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो । योसँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।

उक्त नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिनयता कोभिड–१९ संक्रमण देखिएको हो । अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवारका सबैभन्दा जेठा सदस्यले बताए ।

उनका अनुसार सुरुमा भाइलाई ज्वरो आएको थियो र पछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भयो ।

कमेन्ट गर्नुहोस्