कोरोनाकै बीच कङ्गोमा फेरि देखियो इबोला

जेनेभा, विश्वभरी कोरोना महामारी फैलिएको बेला कंगोमा भने इबोला संक्रमण देखा परेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमणको एउटा घटना देखिएको हो ।

नयाँ संक्रमण बेनी शहरमा देखिएको हो । यो शहर यसअघि इबोला महामारीको केन्द्र रहेको थियो ।

यसअघि कंगोमा इबोला महामारी उन्मूलन भएको घोषणा गरिएको थियो ।

तर महामारी अन्त्य भएको घोषणा भएको ५२ दिनपछि नयाँ संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संक्रमण देखिएका व्यक्ति २६ वर्र्षीय पुरुष रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख घेब्रेयेससको भनाई उदृत गर्दै अल जजिरामा प्रकाशित समाचार अनुसार, विश्व स्वास्थ्य संगठन निर्देशित टोलीले घटनाको अध्ययन गर्दै थप नयाँ संक्रमणका घटनाका लागि
समेत तयार रहेको उल्लेख गरेको छ ।

मध्य अफ्रिकी देश कंगोमा गत फेब्रुअरीम इबोला अन्त्यको घोषणा गरिएको थियो । सन् २०१८ मा फैलिएको इबोला महामारीका कारण २ हजार २ सय जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्