काठमाडौंका मजदुर भन्छन्- ‘परिवार कुरिरहेका छन्, घर फर्किन देऊ’

काठमाडौँ: नयाँ वर्षका दिन ललितपुरको नख्खुखोला किनार पुग्दा पालको टहरामा बसेका कामदारको अनुहारमा कुनै उत्साह थिएन। उनीहरुको आँखामा केही आशा थियो। जिज्ञासा थियो।

अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गतको नख्खुखोला करिडोर निर्माणमा जुटेका दैनिक ज्यालादारीका कामदार यहीँ पालको ओतमा रात काट्दै आएका छन्। उनीहरुसँग कुरा गर्दा कोरोना त्राससँगै लकडाउनको अत्यासले सताएको बुझ्न सकिन्थ्यो।

सल्यानको त्रिवेणी गाउँपालिका–१ की चम्पा गोतामे पनि यही पालमुनि थिइन्। ‘जाऊँ कसरी जाऊँ, सबैतिर लकडाउन छ,’ तरक्कै आँसु झार्दै उनले भनिन्, ‘घरमा आमा बिमारी हुनुभएको खबरले रातभरि निद्रा परेको छैन। घरबाट फुन आको आई छ। लौ न सर जसरी हामीलाई घरसम्म पुर्‍याउने व्यवस्था गरिदिनुपर्‍यो।’

याे पनि पढ्नुस  फेरि किन बढ्यो लकडाउन ? यस्ता छन् मुख्य कारण

चम्पा गत माघमा काठमाडौं आएकी हुन्। त्यसयता उनको घरमा टिबीका बिरामी श्रीमान्, आफूबाट बच्चा नभएपछि भित्र्याइएकी कान्छी र दुई छोराछोरी छन्। श्रीमान्‌को कमजोर स्वास्थ्यका कारण आफू मजदुरी गर्न काठमाडौं आउनुपरेको उनले सुनाइन्।

चम्पासँगै जाजरकोट भेरी नगरपालिका–३ की प्रमिला विक, बाँके कोहलपुरकी अमृता खत्री एउटै पालमा बस्छन्। खोला किनारको उराठलाग्दो बगरमा पालमुनि गुम्सिएर बस्नुपरेको उनीहरू सुनाउँछन्।

उनीहरु अमर कन्स्ट्रक्सनअन्तर्गत काम गर्दै आएका छन्। ललितपुर महानगरपालिका–१५ र २५ वडामा पर्ने भैंसेपाटी मुनि खोलाको २२ सय मिटर खण्डमा करिडोरको काम भइरहेको थियो।

याे पनि पढ्नुस  नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिन्छः मुख्यमन्त्री भट्ट

लकडाउनपछि पालभित्रबाट आफ्नो ‘लेडिज ब्याग’ चोरी भएको चम्पाले बताइन्। ‘पैसा धेरै थिएन, तर त्यसभित्रको सामान झिकेर लगेछ, झोलाचाहिँ च्यातेर फालेको फेलापर्‍यो,’ उनले भनिन्।

सरकारले लकडाउन गरेपछि करिडोरमा काम गर्दै आएका ९० जना मजदुर कामविहीन भएका छन्। ती मजदुरमध्ये करिब १५ जना महिला छन्। ‘हामीलाई ठेकदारले चामल, दाल, नुन, तेल दिनुभएको छ,’ बर्दियाको मधुवन नगरपालिका–६ का शिवहरि नैनावस्तीले भने, ‘अरु सागसब्जी आफैं किन्छौं। खानेपानीचाहिँ पारि भैंसेपाटीको ढुंगेधारामा लाइन बसेर ल्याउँछौं।’

यो फाँटमा करिब २५ वटा त्रिपाल टाँगेर बनाइएका ओत लाग्ने ठाउँ छन्। पाल राति शीत छेक्नमात्र उपयुक्त छ। दिउँसो घाम चर्किंदा तातेर बस्नै गाह्रो हुन्छ। चैत महिनाको हावा, हुन्डरीले पाल उठाउने जोखिम रहेको उनीहरू बताउँछन्।

याे पनि पढ्नुस  के हो कोरोनावाहक भनेर आरोप लागेको तब्लीगी जमात ?

बर्दियाका शिव घर्तीमगर र केशरबहादुर घर्तीमगरको टोलीलाई उस्तै छटपटी छ। ‘हामी त अब काम गर्दैनौं, गाउँ जाने हो,’ बुढ्यौली उमेरका केशरले भने, ‘हाम्रो घरपरिवार, छोराछोरीको चिन्ता बढेको छ। उनीहरु पर्खिइरहेका छन्। सँगै बस्न पायो भने मरे पनि सँगै, बाँचे पनि सँगै हुन्थ्यो। कम्पनीले पास दियो भने तुरुन्तै घर जान्छौं।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 

कमेन्ट गर्नुहोस्