दोहाः कतारको मन्त्रिपरिषद् बैठकले २६ अप्रिल आइतबारदेखि लागू हुने गरि नयाँ निर्देशन जारी गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि भन्दै सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा कामदार सबैले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने निर्देशन आएको नेपाली दूतावासले जानकारी दिएको छ।
उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानुन नं. १७ बमोजिम अधिकत्तम ३ वर्ष जेल सजाय वा कतारी रियाल २ लाखसम्म जरिवाना वा दुवै सजाय हुने दूतावास स्रोतले जनाएको छ ।
यस्तै, दूतावासले कतारमा बसोबास गर्ने नेपालीलाई सरकारले जारी गरेको निर्देशनको पालना गर्न गराउन अनुरोध गरेको छ ।