ताप्लेजुङः सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट ७ करोड रुपैयाँ बढीको क्षति भएको पाइएको छ ।
आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीबाट ८ घर जलेका छन् । अन्य केही घरमा आंशिक क्षति भएको थियो । ८ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् ।
आगलागीले ८ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो ।
राति करिब १०ः३० बजेदेखि सुरू भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ ।