कोरोना जितेर घर फर्किएकाको फेरियो दिनचर्या

कैलालीः कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ। कोरोना पोजिटिभ भएर अस्पताल भर्ना भएका विक निको भएर डिस्चार्ज भई होम क्वारेन्टाइनको बसाइँसमेत पूरा गरेपछि अहिले उनको दिनचर्या फेरिएको छ।

१६ दिनको अस्पतालको आइसोलेसन र थप सात दिन होम क्वारेन्टाइनको बसाइँले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उनले बताए।

२२ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसननमा भर्ना भएर १६ दिनपछि कोरोना पोजिटिभ निको भएर डिस्चार्ज भएका विकले भने, ‘अहिले आफू स्वस्थ्य भएको छु, बिहानदेखि साँझसम्म खेत जोत्ने र गोरु चराउन जाने काममा परिवारका सदस्यलाई सघाइरहेको छु ।’

याे पनि पढ्नुस  आइसोलेसनमा राखिएका पुरुषको मृृत्यु

मुम्बईको एक होटेलमा काम गर्दै आएका विक कोरोनाको सन्त्रासका कारण त्यहाँको होटेल बन्द गरिएपछि गौरीफण्टा सीमा नाका हुँदै आफ्नो घर कैलाली फर्किएका थिए। उनले कोरोनाको महामारी सकिएपछि पुनः मुम्बई पुगेर पुरानै काममा फर्किने सोच बताए। ‘यहाँ केही अवसर छ्रैन, कोरोना शान्त भएपछि जीविका चलाउनका लागि पनि पुनः उतै जाने सोच राखेको छु’ उनले भने।

कोरोना पोजिटिभ भएर निको भएर अस्पतालबाट डिस्चार्ज भएका अमृत शाहीको दैनिकी भने शारीरिक अभ्यास गर्ने र मोबाइलमा गेम खेल्नमै बित्ने गरेको छ। ‘दिनभरि घरमै बसेर शारीरिक अभ्यास र मोबाइलमा गेम खेलेर समय बिताउने गरेको छु, उनले भने, घर बाहिर छरछिमेकमा जान नपाउँदा भने केही असजिलो अनुभव भइरहेको छ ।’

याे पनि पढ्नुस  उपत्यका भित्रिने/बाहिरने सवारी साधनमा ७० प्रतिशतले कमी

दुबईबाट दिल्ली, काठमाडौं र नेपालगञ्ज हुँदै कैलाली पुगेका उनमा चैत ११ गते कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो। उनी २९ दिन आइसोलेशनमा बसेर कोरोना पोजिटिभ निको भएर डिस्चार्ज भएका थिए।

होम क्वारेन्टाइनको बसाइँ पूरा गरे पनि अझै उनीहरुले आफ्नो टोल र छरछिमेकमा आउजाउ गरिरहेका छैनन् । परिवारका सदस्यले अझैँ छरछिमेक र टोलमा नजान सल्लाह दिइरहेकाले आफू छरछिमेकमा नगएर परिवारको काममा सघाइरहेको राज विकले बताए।

प्रदेशमा कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएका ५ जनामध्ये ४ जना पोजिटिभ निको भएर यसअघि नै डिस्चार्ज भइसकेका छन्।

याे पनि पढ्नुस  थप ११ जनामा कोरोना पोजिटिभ

सङ्क्रमित १ महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

मन्त्री सुवेदीले क्वारेन्टाइनमा औषधि छर्किने गरिएको र कतिपय क्वारेन्टाइनमा झुलको समेत व्यवस्था गरिएकाले लामखुट्टेको टोकाइबाट आउन सक्ने अन्य रोगको जोखिम अहिले नदेखिएको बताए। ‘आइतबारसम्म प्रदेशभरि तीन हजार ५७२ जना क्वारेन्टाइनमा बसिरहेका छन्’, उनले भने, ‘रोगको प्रभावकारी रोकथामका लागि जनचेतनामै बढी जोड दिइरहेकाछौँ ।’ रासस

कमेन्ट गर्नुहोस्