कार्ल मार्क्स, सोल्ड आउट !

सदाझैं त्यो बिहान ४ः३० बजे म निद्राबाट ब्युँझेको थिएँ।

मफलर, ओभरकोट र माकलटोपी लगाएको थिएँ। र, घरद्वार छाडी प्रभात विचरणका निम्ति ललित नगरका तान्त्रिक गल्लीहरूमा निस्केको थिएँ।

– एक्लै निस्केका थियौ ?

– हो, एक्लै निस्केको थिएँ।

– अरू कोही थिएन ?

– थिएन।

– साँँच्चि ?

– साँच्चि।

गल्लीहरू निर्जन थिए। चकमन्न। चमसुर, पालुङ र धनियाँ बेच्ने खरपनवालाहरूको अत्तोपत्तो थिएन। ठेला गुडाउँदै चोक चोकमा निस्कने फलफूलवालाहरूको नाम-ओ-निसान थिएन।

लेखक कुमार नगरकोटी ।

जाडो पनि कस्तो बढेको !

पुसको ठिहीले आफ्नो चारित्रिक औकात देखाइरहेको थियो। ब्रह्ममुहूर्तमा निकै नै सक्रिय हुने आफ्नो तामसिक खप्परमा अनेक विचार डाउनलोड गर्दै म एकसुरले चुपचाप हिँडिरहेको थिएँ, सिग्रेट्यौली धुवाँ उडाउँदै।

– अचेल पनि सिग्रेट पिउँदै मर्निङ वाक गर्छौ ?

– हो नि त !

– ब्लड प्रेसरको औषधि खान्छौ, तैपनि सिग्रेड पिउँछौ ?

– हो नि त !

– तिमी नबदलिने भयौ, होइन त ?

– हो नि त !

गुपचुप हिँडिरहेको थिएँ। यस्तैमा एउटा गल्लीको पुछारमा रहेको ल्याम्प-पोस्टले मेरो ध्यान खिच्यो। म त्यतै गएँ।

जीर्ण ल्याम्प-पोस्टले विदीर्ण प्रकाश भुइँमा चुहाइरहेको थियो। पीत प्रकाशमा लतपतिएको भुइँकुहिरो जन्डिसको रोगीझैं पहेँलाम्मे थियो।

त्यही पीत परिवेशमा, ल्याम्प-पोस्टमुनिको बेन्चमा मैले कार्ल मार्क्सलाई देखेँ। भेटेँ।

– यु मिन, द कार्ल मार्क्स ?

– यस, द कार्ल मार्क्स।

– द जर्मन दार्शनिक ?

– यस, द जर्मन दार्शनिक।

– पाटनको तान्त्रिक गल्लीमा ?

– यस, तान्त्रिक गल्लीमा। ल्याम्प-पोस्टमुनि।

कार्ल मार्क्सको हालत दयनीय थियो। एकसरो झुत्रेझाम्रे लुगामा उनी जाडोले लुगलुग काँपिरहेका थिए। उनको निधारमा आलो घाउ थियो। आँखा सुनिएका र गालाका दुवै भाग कोत्रिएका थिए।

उनको मुहारलगायत देहमा कसैले लाल-हिंसा गरेको प्रतीत हुन्थ्यो।

उनको कारुणिक अवस्था देखेर चित्त दुख्यो। आत्म-ग्लानिको नमीठो अनुभूतिले मलाई छप्पकै छोप्यो। मसित ह्यान्डिप्लास्ट थिएन, नत्र लगाइदिन हुन्थ्यो। घाउमा मल्हमपट्टी गरिदिन हुन्थ्यो।

– मार्क्सप्रति तिमीले सहानुभूति व्यक्त गरेनौ ?

– गरिनँ।

– सिग्रेट दिएनौ ?

– दिइनँ।

– त्यसो भए के दियौ त ?

– लुगाहरू दिएँ।

याे पनि पढ्नुस  कार्ल मार्क्सबारे सात रोचक तथ्य

आफ्नो ओभरकोट र मफलर फुकालेर मैले उनलाई लगाइदिएँ। माकलटोपी लगाइदिन खोज्दाचाहिँ उनले इन्कार गरे। त्यसपछि मसित अंकमाल गर्दै उनले भने, ‘थ्यांक यु मिस्टर नगरकोटी ! अझ एक कप तात्तातो कफी पिउन पाए आँत रमाउने थियो।’

मैले मार्क्सलाई नजिकैको क्याफेमा लिएर गएँ।

क्याफे चकमन्न थियो। वेटर-बरिस्ता-वेट्रेस कोही देखा परेनन्। कफी आफैं बनाएँ र मार्क्सलाई सर्भ गरेँ। एस्प्रेसोको पहिलो चुस्की लिएपश्चात् उनले मकन भने, ‘कफी कफिलो छ, निकै स्वादिलो ! आफैं बनाउनुहुँदो रहेछ।’

मैले भनेँ, ‘बरिस्ताको ट्रेनिङ लिएको छु नि त ! किताब लेखेर जीविका नचले क्याफे चलाउनु पर्छ।’ मेरो कुरा सुनेर उनी पहिलो पल्ट फिस्स मुस्कुराए।

– मार्क्सलाई आफ्नै हातले कफी बनाएर सर्भ गर्ने कस्तो गज्जब !

– त्यही त !

– त्यसमाथि पाटनको तान्त्रिक गल्लीमा !

– त्यही त !

– अझ कुहिरिलो बिहानमा !

– त्यही त !

क्याफेको मौनतामा हाम्रो मौनता पनि खप्टिएको थियो। मार्क्स केही बोल्लान् कि भनी पर्खी बसेँ तर उनी चुइँक्क गरेनन्। अन्त्यमा म स्वयं बोल्न अघि सरेँ। भनेँ, ‘मस्यु मार्क्स ! तपाईंको मुहारमा लागेको घाउको रहस्य के हो ? तपाईंको यस्तो हालत कसरी भयो ? ’

मार्क्सले मलाई अंकमाल गरे। र भने, ‘मलाई मार्क्सवादीहरूसित निकै डर लाग्न थालेको छ।’ यो नै महर्षि कार्ल मार्क्सको अन्तिम वाणी थियो।

कफी पिउन छाडी एकतमासले उनी बाहिर हेर्न थाले, जहाँ कुहिरो सर्वव्याप्त थियो। केही बेर कुहिरोमै टोलाएर हेरे। त्यसपछि उनले आफ्नो हालतबारे बेलीविस्तार लगाए, जसलाई उनैको शब्दमा मुनि राखिइनेछ।

प्रस्तुत छ- मार्क्स की कहानी, उन्ही की जुबानी

मेरो द्विशतवार्षिकीको छेको पारेर काठमान्डुमा ‘मार्क्स फर्किए’ नामक नाटक मञ्चन हुने खबर सुनेर म, कार्ल मार्क्स निकै उत्साहसाथ हिजो यो सहर आएको थिएँ।

तर मिस्टर नगरकोटी ! तपाईंको सहरले मलाई बडो निरुत्साहित पारिदियो।

अखिल नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रेक्षालयमा प्रवेश गर्नबाट मलाई वञ्चित गरियो। मलाई रोक लगाइयो। द्वारपालेले मसित टिकट पो माग्यो। मलाई निकै झोँक चल्यो। निजलाई मैले भनुपर्‍यो, ‘म कार्ल मार्क्सलाई आफ्नै नाटक हेर्न क्याको टिकट ? ’

याे पनि पढ्नुस  मिडियाले धनीका अपराध दबाउँछन्, गरिबका अपराध उचाल्छन्ः कार्ल मार्क्स

मलाई हियाउँदै निकै तिरस्कारपूर्ण लवजमा द्वारपालेले भन्यो, ‘कस्तो मगज खुस्केको मान्छे रहेछ। खोइ बाटो नछेक्नुस्। अलि कुनातिर गई उभिनुस्।’

नाटक हेर्ने कस्तो इच्छा थियो ! रहर थियो ! किन्नु द्वारपाले पाषण हृदय मनुवा निस्क्यो। उसले मेरो कुनै बिन्ती सुनेन। दुई कर जोडी भित्र जान कर गरेँ तर उसले मेरो याचना-पुकार सुनेन। मेरो कठालो समातेर मलाई धकेलिदियो।

म भुइँमा पछारिएँ।

मानौं, त्यतिले मात्र उसको रिस थामिएन। कति कच-कच, कच-कच, कच-कच गरिरा भन्दै उसले मेरो आँखैमा ताकेर मुष्ठी प्रहार गर्‍यो। मेरो चस्मा चकनाचुर भई फुटिगयो।

भुइँमा पछारिएको म पीडाले रन्थनिएँ। दर्शकहरू मलाई कुल्चिएर हिँड्न थाले।

मलाई कुल्चेर हिँड्ने ती दर्शकहरू को थिए ? थाहा छ ?

ती थिए- सरकारी मार्क्सवादी, ठेकेदार मार्क्सवादी, सिन्डिकेट मार्क्सवादी, बिचौलिया मार्क्सवादी, धर्मभिरु मार्क्सवादी, माफिया-डन मार्क्सवादी एवं दलाल मार्क्सवादी। कस्ता सुकिला-मुकिला मार्क्सवादीहरू !

कस्ता औतारी मार्क्सवादीहरू ! छक्क परेँ।

एउटा एनजीओ मार्क्सवादीसित आफ्नो परिचय दिँदै अनुरोध गरेँ, ‘मलाई पनि नाटक हेर्न मन छ। प्लिज, मलाई पनि भित्र लानुस्।’

उसले घृणापूर्वक मसित सोधनी गर्‍यो, ‘महाशय, तपैं कार्ल मार्क्स हो भन्ने के प्रमाण छ ? परिचयपत्र देखाउनुस्।’

कस्तो विडम्बना !

जुन देशमा मार्क्सवादी राष्ट्रपति छ, प्रधानमन्त्री तथा सभामुख मार्क्सवादी छन्, जुन देशमा मार्क्सवादी सरकार छ; त्यही देशमा मार्क्ससित परिचयपत्र खोजिँदै छ। कस्तो विडम्बना !

मेरो कोटको खल्तीमा ‘कम्युनिस्ट घोषणापत्र’ थियो। पुस्तिका निकालेँ र उसलाई देखाउँदै भनेँ, ‘यही हो मेरो परिचयपत्र।’

एनजीओ मार्क्सवादीले मेरै आँखाअगाडि ‘कम्युनिस्ट घोषणापत्र’ च्यातेर धुजाधुजा मात्र पारेन, मेरो कोटसमेत निकालेर भुइँमा बुटले किचिमिची पारिदियो।

आसपासका पुँजीपति मार्क्सवादीहरूले थपडी बजाए। गेरु वस्त्रधारी मार्क्सवादीहरू गलल्ल हाँसे।

त्यसपछि बडो दुःखी हुँदै म टिकटबारे सोधपुछ गर्न काउन्टरमा गएँ। टिकटको मूल्य सुनेर त म मूच्र्छा नै परूँला कि जस्तो भएँ।

काउन्टरकी मैयाँलाई मैले सोधेँ, ‘यति महँगो टिकट सर्वहारा वर्गले कसरी किन्न सक्छन् ? यो नाटक किसान, कामदार, मजदुरहरूले हेर्नु पर्दैन ? ’ मैयाँले भनी, ‘यो किसान, कामदार तथा मजुदरजस्ता सर्वहारा वर्गले हेर्ने नाटक होइन।’ त्यसो भए कसले हेर्ने नाटक हो भनी सोध्दा ऊ बोली, ‘यो बुर्जुवा मार्क्सवादीहरूले हेर्ने नाटक हो।’

याे पनि पढ्नुस  कार्ल मार्क्सबारे सात रोचक तथ्य

बुर्जुवा मार्क्सवादी ? मैयाँको कुरा सुनी म ट्वाँ परिगएँ।

एउटा टिकट जसरी भए पनि मिलाइदिनुस् न भनी बिन्ती बिसाउँदा उसले भनी, ‘मार्क्स इज सोल्ड आउट। कार्ल मार्क्स बिक्री भइसक्यो।’

त्यसलगत्तै रमिता हेरी बसेका बुर्जुवा मार्क्सवादीहरूले मलाई झांगल-झुंगल पार्दै झ्यानकुटी खेलाउँदै सडकको किनारमा मिल्काइदिए।

म मार्क्स, यसरी मार्क्सवादीहरूबाटै अपमानित भएँ। जसका लागि ‘दास क्यापिटल’ लेखेँ, उनीहरूले नै मलाई दासझैं व्यवहार गरे।

मैले मार्क्सको मुहार हेरेँ, जो मलिन थियो। जहाँ घाउहरू थिए।

ती घाउ त अवश्य पनि डिटोल-जलले पखाल्न सकिन्थ्यो, किन्तु उनको मनमा लागेको घाउ अपूरणीय थियो। देहको चोट ब्यान्डेज र ह्यान्डिप्लास्टले छोप्न सकिन्छ, परन्तु आत्मामा लागेको चोटलाई छोप्ने ह्यान्डिप्लास्ट कहाँ पाइन्छ ?

– त्यस्तो ह्यान्डिप्लास्ट कतै पाइँदैन कुमार।

– हो इज्मेराल्दा हो। मलाई थाहा छ।

– अनि किन भावुक भएको त ?

– म भावुक भएँ र !

– हो नि त !

ओके, देन। लेट्स ब्रस असाइड भावुक्ताज्। हामी कहाँ थियौं रे ? निर्जन क्याफेमा ? घना कुहिरोले ढाकेको तान्त्रिक गल्लीको कफी अड्डामा ? या यो स्वैरकाल्पनिक आलेखका अन्तिम प्याराग्राफहरूमा ?

जे होस्, परिवेश शान्त थियो।

वेटर-बरिस्ता-वेट्रेसहरूको अझै अत्तोपत्तो थिएन। मैले टेबलमा फुकालिराखेको माकलटोपी मार्क्सले लगाए। अनि एस्प्रेसोको अन्तिम चुस्की लिँदै उनी बोले, ‘म अब फर्कन्छु। कफी र आत्मीयताका लागि तपाईंलाई धन्यवाद।’

म केही बोलिनँ। अन्ततः उनी स्वयं बोले, ‘जानुअघि एउटा कुरा मिस्टर नगरकोटी ! तपाईं पनि कतै मार्क्सवादी त होइन ? ’ मैले होइन भन्दा उनी खुसी भए। मलाई अंकमाल गरे। र भने, ‘मलाई मार्क्सवादीहरूसित निकै डर लाग्न थालेको छ।’

त्यो नै महर्षि कार्ल मार्क्सको अन्तिम वाणी थियो। क्षणभर अँगालोमा अल्झिएपश्चात् उनी क्याफेबाट बाहिरिए। मेरो ओभरकोट, माकलटोपी र मफलर लगाई हिँडेका मेरा मनप्रिय दार्शनिक त्यसपछि गल्लीको मायावी कुहिरोमा बिलाए। अन्नपूर्ण पोष्टबाट साभार

कमेन्ट गर्नुहोस्