फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही

काठमाडौंः चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ ।

उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो । अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइपुर्याएका थिए । प्रतिष्ठानका चिकित्सकले आँखाको उपचार थाल्नुको सट्टा समीक्षालाई कोरोना भाइरसको आशङ्कामा आइसोलेसनमा राखेका थिए । ‘उदयपुरबाट आएको भन्ने थाहा पाएपछि आइसोलेसनमा राखे, उपचारतर्फ ध्यान दिएनन्’ हाल विराटनगरस्थित आँखा अस्पतालमा रहेका समीक्षामा बुबा दलबहादुरले फोनमा भने, ‘चिकित्सकको लापरवाहीले छोरीको उपचारमा समस्या भयो ।’ ४ दिनपछि चिकित्सकले उपचार हुन नसक्ने भन्दै विराटनगर आँखा अस्पताल लैजान उहाँलाई सल्लाह दिएका थिए ।

याे पनि पढ्नुस  दुर्गममा जान चिकित्सकको प्रतिस्पर्धा !

धरानका चिकित्सकले तीन दिनसम्म आइसोलेसनमा राखेकै कारण समीक्षाको उपचार गर्न कठिन बनेको छ । ‘समयमै अस्पताल नपुर्‍याउँदा चिकित्सकले आँखाको ज्योति गुम्ने खतरा बढ्यो भनेका छन्’ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रदेश नं १ उपाध्यक्ष किशोर राईले भने, ‘शल्यक्रिया गर्न ढिला भएको छ, चिकित्सकसित सल्लाह गरिरहेका छौँ ।’ घाउ नघटेकाले शल्यक्रिया गर्न ढिला भएको चिकित्सकले जानकारी गराएको उनले बताए । समीक्षाको उपचारको सबै खर्च एन्फाले बेहोर्ने राईले जानकारी दिए ।

बारीमा सिमल तरुल खन्ने क्रममा १५ वर्षीया समीक्षाको आँखामा चोट लागेको थियो । आँखा दुख्न थालेपछि उनलाई रामपुर ठोक्सिला स्वास्थ्य चौकी पुर्याइएको थियो । आँखाको नानीमा चोट लागेका कारण उनलाई चौकीका स्वास्थ्यकर्मीले उपचारका लागि धरान लैजान सल्लाह दिएका थिए । उनलाई ज्वरो आएको भन्दै बिपी प्रतिष्ठानका चिकित्सकले कोरोना भाइरसको आशङ्का गरे । उपचारतर्फ नलागिकन समीक्षालाई आइसोलेसनमा राखियो । ‘हामीले उपचार भइरहेको छ भन्ने ठान्यौँ’ समीक्षाका दाजु सनमले भने, ‘चार दिनपछि चिकित्सकले विराटनगर लैजानुस् भनेपछि आत्तियौँ ।’ समीक्षाको नमूना सङ्कलन गरेर परीक्षण गरेपछि तीन दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

याे पनि पढ्नुस  त्रिवि शिक्षण अस्पतालका चिकित्सक १४ दिन क्वारेन्टाइनमा

समीक्षालाई वैशाख १८ गते विराटनगरस्थित आँखा अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्थाबारे बुबा दलबहादुर र दाजु सनमलाई खासै जानकारी छैन । दुवै जना समीक्षालाई सन्चो होला कि भनेर अस्पतालमा कुरेर बसेका छन् । उपचारका लागि ढिला ल्याएका कारण समस्या जटिल रहेको चिकित्सले जानकारी दिएको सनमले बताए । अहिले दुवै जनाको मन भतभती पोलिरहेको छ । ‘धरानका चिकित्सकले शुरुमै आँखा अस्पताल लैजान सल्लाह दिएको भए यस्तो हुँदैनथ्यो’ बुबा दलबहादुरले भने ।

याे पनि पढ्नुस  महाकाली अस्पतालमा चिकित्सक अभाव

यु–१६ राष्ट्रिय महिला टोलीकी सदस्य समीक्षाले स्थानीय लिटिल स्टार स्कुलबाट ८ कक्षाको परीक्षा दिएकी हुन् । उनी स्थानीयदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा भाग लिँदै आएकी थिइन् । अग्रपङ्क्तिमा खेल्ने गरेकी समीक्षा सम्भावना बोकेकी खेलाडी थिइन् । आर्थिक अवस्था निकै कमजोर भएका कारण हाल उनको उपचारमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । उनको उपचारका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार रु २५ हजार सहयोग गर्नुभएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले समीक्षालाई ज्वरो आएका कारण शुरुमै आइसोलेसनमा राखिएको बताए । “ज्वरो धेरै आएकाले कोरोनाको आशङ्कामा आइसोलेसनमा राखिएको हो, पछि उपचार गर्दा यहाँ निको हुने देखिएन, विराटनगर लैजान सिफारिस गरेका हौँ”, उनले भने ।

कमेन्ट गर्नुहोस्