प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न ज्ञवालीलाई नियम बिपरित अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपणमा संलग्न प्रत्यारोपण सर्जन डा. प्रेम ज्ञवालीलाई स्वास्थ्य सेवा ऐनको भावना बिपरित भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्त गरिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा बुधबार बसेको मन्त्रीपरिषद्ले डा. ज्ञवालीलाई ४ बर्षका लागि केन्द्रको निर्देशक नियुक्त गरेको हो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत सञ्चालित सरकारी केन्द्रिय अस्पताल हो । यहाँ स्वास्थ्य सेवा अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको चिकित्सक मात्र निर्देशक बन्ने प्रष्ट नियम बिपरित प्रधानमन्त्री ओली र उनकी निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा. दीव्यासिंहको दबाबमा शिक्षा मन्त्रालय मातहतको त्रिवि चिकित्सासास्त्र अध्ययय संस्थान त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागमा कार्यरत डा. ज्ञवालीलाई केन्द्रको निर्देशक नियुक्त गरिएको स्रोतको दावी छ ।

मानव अंग प्रत्यारोपण विकास समितिको गठन आदेश २०६९ को नियम ६ को उपनियम २ अनुसार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक हुन नेपाल सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सकहरुमध्येबाट कार्यकारी निर्देशकको नियुक्ति हुने व्यवस्था छ । तर, गठन आदेशको नियम बिपरित स्वास्थ्य सेवाको चिकित्सक निर्देशक हुनु पर्ने केन्द्रमा शिक्षा मन्त्रालय मातहतको शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशक बनाउनु नियमको ठाडो उल्लंघन भएको पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र बताउँछन् ।

याे पनि पढ्नुस  डा. ज्ञवालीको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने

‘स्वास्थ्य मन्त्रालय मातहत सञ्चालित केन्द्रिय अस्पतालमा शिक्षा मन्त्रालय मातहत सञ्चालित शिक्षण अस्पतालको चिकित्सक ल्याउनु स्वास्थ्य सेवा ऐन र त्यसको स्पिरिटका आधारमा बनाइएको गठन आदेशको विरुद्घ हो । यसो गर्न पाइदैन ।’ उनले भने ।
शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई मनपरि तरिकाले स्वास्थ्य मन्त्रालय मातहतको सरकारी केन्द्रिय अस्पतालको निर्देशक बनाएको यो पहिलो घटना भएकोले तत्काल खारेज गर्नु पर्ने डा. मिश्र बताउँछन् । व्यक्तिका लागि कानुन परिवर्तन गर्नु अर्को अपराध भएको बताउँदै डा. मिश्र प्रश्न गर्छन्, ‘शिक्षा मन्त्रालय मातहतको कर्मचारीलाई स्वास्थ्य मन्त्रालय मातहतको अस्पतालको निर्देशक बनाएपछि उसले गरेका अनियमितता सम्बन्धी कामको विभागिय कारवाही शिक्षाले गर्छ की स्वास्थ्यले ?’

वीर अस्पताल वा केन्द्रकै वरिष्ठ चिकित्सक मध्ये निर्देशक बनाउनु पर्दथ्यो तर नियम मिचेर शिक्षण अस्पतालको चिकित्सकलाई स्वास्थ्य मन्त्रालय मातहतको सरकारी अस्पतालको निर्देशक बनाउनुले स्वास्थ्य सेवामा कार्यरत चिकित्सकको मनोबल खस्केको नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय मातहतको अस्पतालमा स्वास्थ्यकै चिकित्सक निर्देशक हुनुपर्छ ।’

अस्पतालको निर्देशक कुनै राजनीतिक नियुक्ती नभएकाले कुनै व्यक्ति बिशेषका लागि रातारात कानून परिवर्तन गर्नु उपयुक्त र कानूनसम्मत नभएको महासचिव रिजालले बताए ।
वीर अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह जस्तै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पनि स्वास्थ्य मन्त्रालय मातहत संचालित केन्द्रिय अस्पताल हो ।

याे पनि पढ्नुस  विदेशमा गएर प्रत्यारोपण गर्ने सल्लाह मानेनन् प्रधानमन्त्रीले, आफ्नै माटो प्याराे

मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशक बन्न वीर अस्पतालमा योग्य चिकित्सक हुँदा हुदै पनि डा. दीव्याको प्रभावमा परेर स्वास्थ्य मन्त्री ढकालले नियम बिपरित निर्णय गराएको स्रोतको दावी छ । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत हप्ता सकिए पछि सरकारले नयाँ निर्देशक बनाएको हो ।

मिर्गौला, कलेजो, मुटु लगायतका मानव अंग प्रत्यारोपण गर्ने उद्देश्यका साथ सरकारले बिसं २०६९ मा भक्तपुरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरेको थियो । २०७० देखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यो केन्द्रले अहिलेसम्म ६७५ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेर आफूलाई अब्बल अस्पतालको रुपमा केन्द्रले उभ्याएको छ । प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सञ्चालित यो केद्रमा सयौं व्यक्तिले निशुल्क डायलासिस सेवा पाइहेका छन् । नेपालमा पहिलो पटक ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला जिवित व्यक्तिमा प्रत्यारोपण गरेर यो कार्यक्रमलाई अगाडि बढाइरहेको केन्द्रमा यसरी नियम बिपरित निर्देशक नियुक्त गरिएपछि यसको भविश्यमाथि नै संकट पैदा हुने त होइन भन्ने शंका व्यक्त गरिएको छ ।

बेलायत, अमेरिका, भारत, दक्षिण कोरीया लगायतका देशमा ख्यातिप्राप्त अंग प्रत्यारोपण सर्जन समेत रहेका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको मेहनत, क्षमता र लगनसिलताका कारण छोटो समयमै केन्द्रले प्रत्यारोपणका क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दीव्यासिंहले स्वास्थ्य मन्त्रीलाई छायामा पारेर काम गर्ने गरेको मन्त्रालयका अधिकारी बताउछन । प्रधानमन्त्री ओली नै डा. दीव्याको कुरा काट्न नसक्ने र उनलाई जे गर्न पनि छुट दिने गरेकाले समस्या पैदा गरेको स्रोत बताउछ । राष्टपतिबाट चिकित्सकहरुलाई प्रदान गरिने बिभुषण र पदकमा पनि डा. दीव्या पुरै हावी भएकी थिइन ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्ताभित्र डिस्चार्ज गर्ने तयारी

उनले आफूलाई मा परेका त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूलाई मात्र पदकका लागि शिफारिस गरेर पदक दिलाए पछि स्वास्थ्य मन्त्रालय मातहत कार्यरत चिकित्सकले विरोध जनाएका थिए । डा. दीव्या पनि मिर्गौला रोग विशेषज्ञ भएकाले डा. पुकारले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा गरेको कामबाट उनी चिडिएकी छन् । त्रिवि शिक्षण अस्पतालको हाराहारीमै डा. पुकारको टीमले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारापण र कलेजो प्रत्यारोपण गरेर देखाइदिए पछि डा. दीव्या जसरी पनि डा. पुकारलाई पाखा लगाउन चाहन्थिन् । यसका लागि उनलाई अहिले सहि अवसर मिल्यो र आफू मातहतका सर्जन डा. ज्ञवालीलाई केन्द्रको निर्देशक बनाउन स्वास्थ्य मन्त्री ढकाललाई दवाब दिइन ।

डा. दीव्या त्रिवि शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ भए पनि उनी निजी अस्पताल ग्राण्डीमा काम गर्छिन । तर, यो गैरकानूनी नियुक्ती बिरुद्घ वीरका केही चिकित्सक अदालत जाने तयारी गरेका छन । डा. ज्ञवालीको नियुक्त विरुद्घ सरकारी चिकित्सक संघले पनि बिरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्