चलचित्र पत्रकार संघ मकवानपुरले ३ जना पत्रकारलाई सम्मान गर्दै

हेटौँडाः चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाइने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ ।

आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा कार्यरत पत्रकार राममणि दाहाल, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष बिदुर गिरी र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट कलाकारितामा लागेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मानित गरिने भएको छ ।

हाल कोरोना भाइरसको महामारीको कारण यो वर्ष प्रदान गरीने पुरस्कारलाई महामारीको स्थिति सामान्य भएपछि मात्रै प्रदान गरीने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

दाहाललाई नगद ५ हजारसहित सम्मानपत्र, गिरीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको राशिसहित सम्मानपत्र र लामालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिने भएको छ ।

सबै पुरस्कार तथा सम्मानलाई कोरोना भाइरस संक्रमणको अवस्था सामान्य भएपछि मात्र भव्य कार्यक्रमको आयोजना गर्दै प्रदान गरिने अध्यक्ष गौतमले बताए ।

कमेन्ट गर्नुहोस्