लकडाउनको विकल्पबारे सोचौं

१) कोभिड–१९ को संक्रमणबाट सुरक्षित रहन भन्दै सरकारले जारी गरेको लकडाउनले डेढ महिना पार गरेको छ । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले यो प्रक्रियालाई निरन्तरता दिँदै जेठको २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

एकातिर सरकार विकल्पहिन झै बन्दाबन्दीलाई निरन्तरता दिँदै छ भने अर्को तर्फ भाईरसको संक्रमण दिनानुदिन वृद्धि भएर गएको छ । पछिल्लो सरकारी तथ्यांकले यो ३५७ भन्दा अधिक पुगेको देखाउछ । यसले बन्दाबन्दी मात्रै यो संक्रमण रोक्ने प्रभावकारी माध्यम नभएको प्रष्ट गरेको छ ।

२) अहिलेको अवस्था आउनुमा मुख्यतः क) सरकारले आवश्यक न्युनतम तयारी नगरी बन्दाबन्दी घोषणा गर्नु र बन्दाबन्दी नै यसबाट बच्ने एकमात्र विकल्प हो भन्ने अवस्तुवादी र अवैज्ञानिक बुझाईको पछि दौडी रहनु ।

ख) मुख्यतः नेपाल भारत सिमा क्षेत्रमा स्वदेश फर्कन चाहने जनताको अधिकार र आवाजलाई सहि विधि पहिल्याएर सम्बोधन गर्न नसक्नु (जसकारण ठुलो संख्यामा भारत प्रवासमा रहेका नेपाली मजदुर हरुले घरबास फर्कन असुरक्षित र जोखिमपूर्ण मार्गको प्रयोग गरे) ।

ग) कोभिड-१९ परिक्षणका लागि आवस्यक पर्ने स्वास्थ्य सामाग्री (कीट, पिपिई लगायत)लाई सर्वसुलभ ढङ्गबाट उपलब्ध गराई परिक्षणको दायरा व्यापक बनाउन नसक्नु ।

घ) क्वारेन्टाइनलाई व्यवस्थित, प्रभावकारी र स्वास्थ्य संयन्त्रको उपलब्धताको हिसाबले सुरक्षित बनाउन नसक्नु ।

ङ) जनता र अन्य राजनीतिक पार्टीले दिएका आवस्यक सुझावलाई अस्वीकार गर्नु आदि रहेका छन् ।

३) सरकार हुनु भनेको हरेक कठिन र जटिल परिस्थितिमा पनि आफ्नो भौगोलिक सिमाको रक्षा गर्नु, जन उत्तरदायी बन्नु, जनताको हरेक प्रकारको दु:ख र संकटमा निरन्तर साथ दिई रहनु, हरेक कठिन परिस्थितिमा पनि जनतालाई आफ्नो देश र सरकार भएको अनुभुती गराई रहनु, नजनताको गाँस, बाँस, कपास, स्वास्थ्य र शिक्षाको पुर्ण ग्यारेन्टी गर्नु, गाउँ- समाज र देश मा शान्ति कायम राख्नु, प्रशासनिक निकायलाई जन उत्तरदायी बनाउनु, न्याय प्रणालीको विश्वास र महत्वलाई जनस्तरमा स्थापित गराउनु र कुटनैतिक स्तरबाट हरेक अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित अवस्थामा राख्नु हो ।

यो चिजलाई जनताले हाम्रो सरकार सँग लागू गरेर हेर्ने हो भने स्थिति उल्टो देखिन्छ । अहिले देश एक प्रकारको संकटको अवस्थामा छ । जनता र राज्य बिचको अपार राष्ट्रिय एकता र विश्वासले मात्रै यो संकट माथि विजय सम्भव छ । तर शासक वर्गमा यति धेरै दम्भ र दुस्साहस छ कि उसले हरेक सम्भावनालाई संकटमा विकास गर्दै एक्लै हिड्ने कोसिस गरि रहेको छ । जसकारण यो संकट बिस्तारै सामाजिक-आर्थिक र राजनीतिक संकटमा उठ्ने र अझै व्यापक बन्दै राष्ट्रिय संकटको स्थितिमा पुग्ने देखिन्छ । यो अवस्था भनेको अहिलेको भन्दा निकै कठिन अवस्था हो ।

४) जारी लकडाउनका कारण गरिब, विपन्न जनताको जीवन प्रणाली संकटग्रस्त बन्दै गएको छ । मुख्यतः श्रमिक वर्गको ठूलो हिस्साले पूर्ण रोजगारी गुमाउनुपरेको स्थिति छ । जसकारण समाजमा वर्गिय असमानता र विभेद बढ्दै गएको छ ।

रोजगारीको प्रक्रियामा भारत, मलेसिया, मध्य पुर्वका अधिकांश देशहरू र संसार भरी रहेका नेपाली श्रमिकहरुले पुर्ण र आंशिक रोजगारी गुमाएका छन र यो क्रम तीव्र मात्रामा बढ्दै गएको छ । यसले विदेशमा रहेका नेपाली श्रमिकहरुको अवस्था झन जोखिमपुर्ण र निरन्तर संकटग्रस्त बन्दै गएको देखिन्छ । सम्बन्धित देश र रोजगारदाता कम्पनीले उनीहरुलाई आफ्नो देश फर्कन चर्को दबाब दिँदै आएको स्थितिमा समेत श्रमिक वर्गको स्वदेश आगमन अनिश्चित भएको छ ।

यो अवस्थामा सरकारले आवश्यक सक्रियता नदेखाएको मात्रै होईन सिङ्गो जनता र श्रमिक वर्गको जनाधिकारलाई बेवास्ता गर्दै विभिन्न भ्रस्टाचार, जनघात र राष्ट्रघातमा संलग्न भएको देखिन्छ । यसले स्वभाविक ढङ्गले सरकार प्रति जन आक्रोश बढेको छ । बन्दाबन्दी कै प्रक्रियामा समेत देशव्यापी यसप्रकारका आक्रोश हरु देखिन थालेका छन भने आगामी दिनमा यो अझै व्यापक बन्ने अनुमान गर्न सकिन्छ ।

यो स्थितिमा बन्दाबन्दीलाई निरन्तरता दिएर सरकार एक प्रकारले आफुलाइ सुरक्षित राख्न चाहन्छ । यसर्थ अहिलेको बन्दाबन्दी आवश्यकता कम र शासक वर्गको राजनीति बढी हो भन्ने प्रष्ट भएको छ ।

५) कोभिड-१९ एक विशिष्ट स्वास्थ्य समस्याको रुपमा विश्वव्यापी बन्दै गएको छ । यो सँगै विश्व अर्थतन्त्रमा ठुलो धक्का र हलचल आएको छ । यसले सामान्यतः शासक वर्गको विद्यमान राजनीतिक सत्ताको धरातलीय कमजोरी मात्रै स्पष्ट गरेको छैन परन्तु मुलरुपमा पुँजीवादी विश्व व्यवस्थाको असफलता लाई विश्व स्तरमा प्रष्ट गरेको छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विज्ञहरुका अनुसार विश्वले १९३१ को महामन्दी भन्दा चर्को मन्दिको सामना गर्नु पर्ने देखिएको छ । यसले अमेरिकी साम्रज्यवादी शिविरमा ठुलो हलचल पैदा भएको छ । कोभिड-१९ लाई लिएर पछिल्लो समयमा विश्वका दुई ठुला शक्ति राष्ट्रहरु (अमेरिका र चीन) का बिचमा निरन्तर आरोप-प्रत्यारोपका शिलशिला हरु चल्दै आएका छन ।

हामीले बुझ्नु पर्दछ कि कोभिड-१९ अब एक स्वास्थ्य समस्यामा मात्रै सिमित छैन । अब यो एउटा राजनीति बनी सक्यो । यसले आउने दिनका लागि पक्कै सुखद सन्देश प्रवाह गरेको छैन । अर्को सत्य के हो भने आज विश्वभर बन्दाबन्दिको पक्ष र विपक्षमा बहस शुरु भएका छन । कुनैबेला संक्रमणको केन्द्र बनेको इटालीले आफ्नो देशमा लकडाउन हटाएको छ र आउदो ३ जुनबाट विदेशी नागरिकको प्रवेशलाई समेत खुल्ला गरेको छ ।

स्वयं अमेरिका सुरूदेखि नै यसको विपक्षमा उभिएको छ । यद्यपि यहाँ बुझ्न नसकिएको एउटा विषय चाहिँ विश्व स्वास्थ्य संगठनको भुमिका हो । उसका कतिपय विवादास्पद अभिव्यक्तिले उसको भुमिका माथी प्रशस्तै प्रश्न उठाएको छ ।

पछिल्लो पटक WHO ले कोभिड-१९ बारे कुनै टिप्पणी नगर्न आग्रह गर्दै यो रोगको निदान अनिश्चित रहेको भनाई सार्वजनिक गरेको छ । यदि उसको पछिल्लो भनाई लाई मान्ने हो भने हामीले वर्षौं लकडाउनको सामना गर्नु पर्ने देखिन्छ । कल्पना गरौं यसले विश्व मानवजाती र सभ्यतालाई जोगाई रहन सम्भव छ ?

यो असम्भव र अकल्पनीय विषय हो । यसर्थ तथ्यहरुका आधारमा हामीले बुझ्नु पर्दछ कि यो विश्वव्यापी संकट हो र यसको नियन्त्रणको सामर्थ्य हामि सँग छैन । अर्को तथ्य के हो भने लकडाउनले मात्रै यो नियन्त्रण असम्भव छ र यसलाई विश्वका विभिन्न देश र स्वयं हाम्रो अवस्थाले पनि पुष्टि गरेको छ ।

अन्त्यमा, राष्ट्रिय स्तरमा पक्कै एउटा विराट राजनीतिक संयन्त्रको जरुरी भएको छ । जसले अहिलेको संकट, बन्दाबन्दिको विकल्प र आगामी तयारी हरुका बारेमा पर्याप्त अध्ययन सहित धारणा तयार गरि सम्भावित संकटको विरुद्धमा लड्ने र विजयी हुने सामर्थ्य राख्न सकोस । हामी सरकार पक्षबाट यसको अविलम्ब सुरुवात होस भन्ने अपेक्षा राख्छौं ।

 

यो पनि पढ्नुस्

https://everestdainik.com/2020/05/326613/

 

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

 

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४४ हजार पुग्यो

 

कागेश्वरी मनोहरा नगरपालिकाः पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाउने सहमति

 

बुबाको हत्या गर्ने छोरी पक्राउ

 

भारतमा ६३ प्रतिशत बढीले अनलाइन अध्ययन गर्ने

https://everestdainik.com/2020/05/326553/

रोग प्रतिरोधक क्षमता बढाउने ६ खाना

 

कमेन्ट गर्नुहोस्